प्रदेश १ मा राप्रपाले सरकार नछाड्ने

विराटनगर । प्रदेश १ मा राप्रपाले एमालेलाई दिएको समर्थन कायम राख्दै सरकारबाट नबाहिरिने भएको छ । आइतबार साँझ मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भएको छलफलको क्रममा सरकारमाबाट नबाहिरिने बताएको हो ।

सत्ता साझेदार दल राप्रपा प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता मा. मन्त्री भक्तिप्रसाद सिटौला, राप्रपा प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका नगर प्रमुख राम थापा, प्रदेश सभा सदस्य अमरबहादुर विष्ट सहित नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा पूर्व प्रदेश मन्त्री रामबहादुर मगरबीच भएको छलफलका क्रममा प्रदेश १ मा राप्रपा सरकार नछाड्ने अवस्थामा पुगेको हो ।

छलफलको क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकार सञ्चालनका सन्दर्भमा महत्त्वपूर्ण विषयमा कुरा भएको छलफलमा सहभागी एक नेताले बताए । अन्य प्रदेश र संघमा के हुँदैछ भन्नेले प्रदेश १ मा अर्थ राख्दैन राप्रपाका ती नेताले भने, ‘सरकार छाडिहाल्ने वा समर्थन फिर्ता लिनु पर्ने अवस्था छैन ।’

साँझ भएको छलफलमा प्रदेशलाई बलियो बनाउने हो भने सरकार बनाउने वा गिराउने भन्ने राजनीतिबाट टाढै रहनु पर्ने बारेमा पनि कुराकानी भएको बताइएको छ । छलफल करिब १ घण्टा चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *