आरजु राईस मिलले बर्से धानको न्यूनतम समर्थन मूल्य ३२ सय दिने

विराटनगर । बेलवारीमा रहेको आरजु राईस मिलले किसानको लागि धानको समर्थन मूल्य तोकेको छ । आगामी बर्से धानको लागि किसानलाई अहिले नै समर्थन मूल्य तोकेको हो ।

आरजु राईस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आगामी दिनको लागि किसानलाई लक्षित गरी धानको समर्थन मूल्य तोकिएको जानकारी दिए । बस्नेतका अनुसार  बर्से धानको लागि मिलले किसानलाई न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार २ सय तोकेको हो । गत वर्ष आधारभूत न्यूनतम समर्थन मूल्य  ३ हजार तोकेको मिलले आगामी बर्से धानका लागि ३ हजार २ सय तोकेको छ ।

डाँगीहाटमा एक कार्यक्रमको आयोजना गरी मिलले तोकिएको समर्थन मूल्य राम धानको लागि मात्र भएको बस्नेतले किसानलाई जानकारी गराए ।  गत वर्षको बर्सेधानका लागि तोकिएको समर्थन मूल्यबाट मिलले एक हजार २ सय टन धान खरिद गरेकोमा त्यो धानको चामल  अबको एक महिनामा काठमाडौँका बजारमा पुग्ने बस्नेतले स्पष्ट पारे ।

मंसिरको अन्त्यमा आरजु राईस मिलले किसान, प्राविधिक, सङ्घीय, प्रदेश र स्थानीय तहका पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।  चैते धानको समर्थन मूल्य प्रति मन ९०० तोकेको थियो । समर्थन मूल्य तोकिएपछि आरजु राईसमिलले ८ सय बिगाहामा किसानले रामधान लगाएको अध्यक्ष बस्नेतले बताए ।

५ सय बिगाहामा किसानले गत वर्ष रामधान लगाएका थिए भने यो वर्ष ४ हजार बिगाहामा पुग्ने अनुमान  गरिएको छ । बस्नेतका अनुसार १३ हजार टन बर्से धान आवश्यक रहेको छ ।

किसानहरूसँगको सहकार्यको आधारमा मिल सञ्चालनमा रहेकोले किसानलाई मारमा नपर्ने गरी मूल्य निर्धारण भएको दाबी गरिएको छ ।  ‘धेरै जनाको मन मिलेको र सहयोग रहेको कारण  यो अभियानको रूपमा रहेको छ,’ उनले भने, ‘११ वर्ष भन्दा पहिला नै कृषिमा केही गरौँ भनेर लागेकोले अब किसानहरू यो अभियानमा लाग्नु भएको छ।’

मूल्य शृङ्खलामा काम नगर्दासम्म कृषिको विकास सम्भव नभएको ठानेर मिल सञ्चालन गर्ने र किसानलाई उचित मूल्य दिने भनेर किसानहरूसँगको सल्लाहमा नै यो अभियान थालिएको उनले बताए । यो अभियानमा सरकार, प्राइभेट र समुदायको साथ विना सफल नहुने भएकोले सबै लाग्नु पर्नेमा विज्ञ रामचन्द्र खनालले बताए । नाफाको लागि भन्दापनि कृषिमा केही गरौँ भनेर यो अभियान थालनी भएको उनको भनाई छ।  राम धान लङ्ग्रेन भएकोले यसको उचित मूल्य किसानले पाउने उनीहरूको भनाई छ ।

२५ हजार टन क्षमता रहेको आरजु राईसमिलले किसानको मागको आधारमा अघि बढ्दै गर्दा अब यसको क्षमता बिस्तार गरेर जाने बताएको छ।   सञ्चालक बस्नेतले अहिले २५ हजार टन क्षमताको यो मिलले २२ हजार टन सुकाउने र कुटाउने गरेको जानकारी दिँदै अब थप दुई वटा  ५० हजार मेट्रिकटन क्षमताको मिल सञ्चालन गर्न कार्यदल बनाइने घोषणा गरे । सुनसरी र झापामा मिल सञ्चालन हुने उनको भनाई छ।

समर्थन मूल्य तोक्ने कार्यक्रममा सहभागी हुन पुगेका प्रदेश १का उद्योग तथा कृषि मन्त्री भक्ति सिटौलाले कृषि क्षेत्रको विकास र योगदानमा आरजु राईस मिलले प्रविधिसँग किसानलाई जोडेर लगेको बताए । उनले किसानलाई मूल्य शृङ्खलासँग जोड्नु र   बजारीकरणको लागि प्रोत्साहित गर्नु निक्कै चुनौती पर्ण भएपनि यसलाई व्यवस्थित रूपमा सञ्चालन गरेको प्रति  सञ्चालक बस्नेतको प्रशंसा गरे ।   अब स्थानीय, प्रदेश र संघीय सरकारले किसानलाई सहयोग गर्ने र मिलसम्म जोड्ने काममा तीन तह सक्रिय हुनु पर्ने बताए ।  बेलवारी नगरपालिकाका मेयर दिलप्रसाद राईले किसानलाई बिउ, सिचाइको व्यवस्थापनको काम स्थानीय सरकारले गर्दै आएको बताए ।

प्रदेश १ का उद्योग तथा कृषि मन्त्री भक्ति सिटौला, संघीय कृषि तथा पशु विकास मन्त्रालयका सहसचिव शबनम सिवाकोटी, वाली विकास तथा कृषि जैविक विविधता केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठ, प्रदेश उद्योग तथा कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेना, नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) हर्दिनाथ प्रमुख डा रामबरण यादव सहित प्रदेश कृषि निर्देशनालय, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मोरङ, सुनसरी र झापाका प्रमुख सहित किसानहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *