आईसीसी विश्वकप लिग टू : पीएनजीलाई हराउँदै नेपाल ४ विकेटले विजयी
काठमाडौँ । यूएईमा आजबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले पहिलो जित हात परेको छ ।
नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरेको हो । यूएईको दुबई अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो ।
मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।
पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।
किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जीसीले आउट गराए ।
नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी।सीको नाममा समान १÷१ विकेट रह्यो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी।सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।
प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औँ खेलाडी हुन् ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
नेपालले अब यो सिरिजको दोस्रो खेलमा मार्च २ मा घरेलु टोलीसँग खेल्नेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।
पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा रहेको छ ।