मेस्सी बने फिफा वर्ष खेलाडी
काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् । पेरिसमा आज विहान भएको एक समारोहमा उनले प्रतिद्वन्दीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।
मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१-२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते । महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् ।
गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् । मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।
यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।