प्रदेश-१ को नाम ‘कोशी’ राख्ने दलहरूबीच सहमति, नेकपा एसले फरक नाम दर्ता गर्ने
विराटनगर । प्रदेश १ को नाम कोशी राख्ने बारेमा दलहरू सहमत भएका छन् । गोप्य बैठक बसेर दलहरू नाम राख्ने बारेमा सहमतिमा पुगेका हुन् । दलहरूले सरप्रपाईजको रूपमा प्रदेश-१ को नाम कोशी ल्याउने सहमतिमा पुगेका हुन् ।
आज बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश १ को नाम प्रक्रियामा लगेर टुङ्गो लगाउने तयारी भएको नेताहरूले बताएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी प्रदेश १ को नाम कोशी राख्नेमा सहमति गरेका हुन् । यसलाई जसपाले पनि समर्थन गरेको बुझिएको छ । पहिचानको मुद्दामा अडिएको नेकपा माओवादी केन्द्रले भने सरकारले ल्याएको नाममा भोट गर्ने जनाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले भने फरक नाम प्रस्तावको रूपमा लग्ने तयारी गरेको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले जानकारी दिए । ‘अरू दलले के प्रस्ताव लग्छन् थाहा भएन,’ उनले भने, ‘हामीले प्रदेश १ को नाम ‘किराँत-कोशी वा किराँत-सगरमाथा’ मध्ये एक लग्ने तयारी गरेका छौँ ।’ प्रदेश १ को नाम बहुपहिचानको आधारमा लिएर जाने तयारी रहेको उनले जानकारी दिए ।