फुटेका माओवादी जुटेर नयाँ आन्दोलन सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिक्रियावादी शक्तिले माओवादीलाई घेरा हालिरहेको बताएका छन् । उनले फेरि नयाँ आन्दोलनको आवश्यकता रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले काठमाडौँमा सहिद तथा वेपत्ता याेद्धा सन्तति फाउन्डेशनले आयोजना गरेकाे जनयुद्ध आन्दोलनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले जनयुद्धका सहीदको योगदानलाई कदर गर्न जगडोलमा सहीद स्मृत पार्क निर्माण गरिएको, जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको र जनयुद्धका सहिदका नाम सरकारले राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताएका छन् ।
‘इतिहास निर्माण गर्न महान् बलिदान गरेका जनताका सपुतहरु बाँचिरहने छन्,’ उनले भने, ‘माओवादीविरुद्ध षड्यन्त्र गर्ने, भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीहरुको रणनीति र भ्रम चिर्ने, घेरा तोड्ने र सशक्त हुने माओवादी रणनीति हो ।’
धेरै खुम्ती, मोड र अप्ठ्यारा पार गर्दै अहिले देशको नेतृत्व गर्ने ठाउँमा आफू पुगेको भन्दै उनले अब जनताका पक्षमा काम गर्ने बताए ।
उनले माओवादी आन्दोलनको जगमै बनेको नयाँ सार्वभौम संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकोले धेरैले माओवादीलाई सिध्याउन खोजेको उनले बताए ।
उनले माओवादी एकतालाई जोड दिँदै मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, बाबुराम भट्टराई सबैलाई एकजुट हुन उनले आग्रह गरे ।
‘माओवादी आन्दोलन निकै ठूलो आन्दोलनको रुपमा आयो,’ उनले भने, ‘समयक्रमसँग हामी विभिन्न भंगालामा विभाजित भयौँ । तर अहिले हामी फेरि मिलेर सागर बन्नुपर्ने अवस्था छ । हामी विभन्न भंगालामा लडिरहेका छौँ । हामी एकै ठाउँमा आएर लड्दा हामी बलियो हुनेछौँ ।’