ओखलढुंगामा बोलेरो दुर्घटना : घाइते १० जनालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो
दुईजनाको मृत्यु, १२ जना घाइते
विराटनगर । ओखलढुंगामा भएको गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १२ घाइते भएका छन् । आज बिहान ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम तर्फ जाँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट दुर्घटना भएको हो ।
दुर्घटनामा चिसंखुगढी–३ का ५२ वर्षीय मीन बहादुर श्रेष्ठ र ७० वर्षीय भक्त बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सडकबाट करिब एक सय मिटर तल खसेको बोलेरोमा सवार अन्य १२ जना घाइते भएको उनले जानकारी दिए ।
गाडीको चालक सहित १० जना घाइतेहरूलाई उद्दार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौँ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको दासले बताए ।
मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुंगा पठाएको छ ।
घाइतेहरूमा चालक चिसंखुगढी–१ का २५ वर्षीय सुमन कार्की, चिसंखुगढी–१ का ४० वर्षीय केन्द्र बहादुर कार्की, २२ वर्षीय खेम बहादुर खत्री, चिसंखुगढी–२ कि ५७ बर्षीया तिल कुमारी श्रेष्ठ, १३ बर्षीया बालिका आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ बर्षीया शर्मिला श्रेष्ठ, उनको ४ बर्षीया छोरी लरिसा श्रेष्ठ रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिका–१० कि ४० बर्षीया तुलसा धमला उनको २ वर्षीय छोरा विनय धमला र चिसंखुगढी–३ कि ५० वर्षीय तीर्थलक्ष्मी श्रेष्ठलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। मोलुङ गाउँपालिका–१ कि ३५ बर्षीया जानुका धमला र उनको छोरा ४ वर्षीय कोसिस धमलालाई मिसन अस्पताल ओलढुंंगा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक दासले जानकारी दिए ।