करकाे दर घटाएको विराटनगर महानगर दायरा बढाउने प्रयासमा

सहयोग गर्ने व्यवसायीको प्रतिबद्धता

विराटनगर । विराटनगर महानगरपालिकाको राजश्व वृद्धिका लागि सरोकारवाला संघ संस्थाहरूले सहयोग गर्ने बताएका छन् । संवाद समूहले विराटनगरमा गरेको संवादको क्रममा सबै संयुक्त रूपमा अभियान चलाएर जान सहमत भएका हुने । विराटनगर महानगरपालिकाले आगामी दिनमा राजश्वलाई ब्यवस्थित गर्न आवधिक नगर विकास योजना र मध्यकालिक खर्च संरचना तयार गरी त्यसको कार्यान्वायनका लागि राजश्व प्रणाली सुधार योजना बनाउने महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रतिबद्धता जनाउनु भयो ।

‘अहिलेदेखि नै राजश्व सुधारको योजना नबनाउने हो भने भोलिका दिनमा थप समस्या आउन सक्छ, उनले भने, मैले गर्ने नीतिगत निर्णयहरू महानगरको तर्फबाट गर्न तयार छु, तपाईँहरूले पनि सहयोग गर्नु पर्छ ।’ महानगरपालिकाले सञ्चालन गरेको कर अभियानमा सबै सरोकारवालाहरूले सहयोग गर्ने, संयुक्त अभियान अभियान चलाउने, कर शिक्षा र समन्वयमा सहजीकरण गरेर जाने सहमति भएको छ।

महानगरपालिकाले सबै वडामा करका दर सहितको विवरण टाँस गर्ने, कर तिर्ने वातावरण बनाउन सम्बन्धित सबै नागरिकसँग छलफल चलाउने विराटनगरमा नेतृत्व गर्ने व्यवसायी संस्थाहरूको प्रतिबद्धता छ । इमानदार भएर कर तिर्ने वातावरण बनाउन सबै संघ संस्था र सरोकारवालाले आफ्ना सदस्यहरू मार्फत भूमिका खेल्ने सहमति भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, उद्योग परिसंघ (सिएनआई) र विराट व्यापार संघले सबै सदस्यलाई कर तिर्न आव्हान सहितको सूचना प्रकाशित गर्ने तथा महानगरपालिकाले दिएको छुटको समय थप गर्दै दिइएको छुटको बारेमा नागरिकले थाहा पाउने गरी सूचना प्रकाशन प्रसारण गर्ने छलफलले निष्कर्ष निकालेको छ । सबैको सहभागीतामा करदाता शिक्षालाई प्रभावकारी बनाउने भनिएको छ। मेयर कोइरालाले अनलाइन सिस्टमबाट कर तिर्ने व्यवस्था मिलाइएको बताए । मेयर कोइलालाले करको दर घटाएको जानकारी दिए ।

‘हामी आएपछि कर बढेको भन्ने थाहा पाउनु भएको छैन होला हामीले करको दर घटाएका छौँ,’ कोइरालाले भने, करको दायरा बढाएर दर घटाएका छौँ ।’ विराटनगर महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले अभियानको रूपमा ५ वटा वडामा राजश्व संकलनको काम सुरु भएको बताए ।

उनका अनुसार, विराटनगर महानगरपालिकाको वडा नम्बर १, ३, ४ , ५ र ६ मा यस अघि नै अभियान सुरु भए पनि अब केही दिनमा नै १० र १६ नम्बर वडामा कर अभियान सुरु गर्न लागिएको छ। आर्थिक ऐनमा भएको व्यवस्था अनुसारको व्यक्तिगत रूपमा बुझाएर महानगरले काम गरिरहेको गौतमले बताए । महानगरपालिकाको १९ वटा वडामा ४ वर्षको लागि फोकल पर्सन तोकेर करदाता शिक्षा सञ्चालन गरिने उनको भनाई छ ।

‘घरबाट नै कर तिर्न सहज होस् भनेर फोकल पर्सन पनि तोकिएको छ, उनले भने, अनलाइन भुक्तानीमा समस्या हुने बित्तिकै ती फोकल पर्सनलाई फोन गरेर सहयोग लिन सकिन्छ ।’

मोरङ व्यापार संघका अनिल साहले महानगरपालिकाले सुरु गरेको दायरा बढाउने दर नबढाउने निर्णय महत्त्वपूर्ण रहेको बताए । प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले विराटनगरको कर घटाइएकोले अहिले सबैलाई सहज हुने गरी वर्गीकरण भएको बताए ।

‘वर्गीकरणको आधारमा २० हजारदेखि १ लाखसम्म करको दर तोकिएको थियो,’ उनले भने, ‘पहिलो पटक संशोधन हुँदा ३०,५० र ९० हजार तोकियो, पछिल्लो समय कर समायोजन हुँदा वर्गीकरण अनुसार ग वर्गले १५ हजार ख बर्गले ४५ र क वर्गका विद्यालयलाई ७५ हजार तोकिएको छ।’

कर तिर्नको लागि हामी आफैँ जाने वातावरण बनेको उनले सुनाए । औषधी व्यवसायी कुमार खतिवडाले औषधी ब्यवसायीहरुको करको दल नघटे पनि कर तिर्ने वातावरण बनाउँदा वर्गाीकरणलाई वैज्ञानिक बनाउन सुझाव दिए ।

‘औषधी व्यवसायी महानगरपालिकालाई सहयोग गरेर जान तयार छौँ,’ उनले भने, ‘कर तिर्ने खालको वातावरण बनाउन संयुक्त अभियानको थालनी गरेर जाऊँ, करलाई वैज्ञानिक बनाऊँ ।’

उद्योग संगठन मोरङका कर विज्ञ तारा निरौलाले महानगरपालिका अब प्रगतिशील कर प्रणालीमा प्रवेश गर्नु पर्ने बताए । उनले राजश्व सुधार योजना बनाएर जान महानगरलाई सुझाव दिए ।

‘आय, पुँजीको आधारमा कर निर्धारण गर्नु पर्छ, उनले भने, प्रगतिशील कर प्रणाली भनेको दैनिक आय आर्जन हुने आधारमा कर निर्धारण गर्ने हो ।’

स्वघोषणाको माध्यमबाट कर प्रणालीको विकास गरेर जान सकिने उनको भनाई छ। मुद्रण व्यवसायी लभ घिमिरेले ७२ जना मुद्रण व्यवसायी भए पनि सबै करको दायरामा पुगेको बताए । निजी अस्पताल सञ्चालक संघ अफिनका अध्यक्ष शंकर अधिकारीले कर शिक्षा संञ्चालनका लागि वडामा भएको एक एक मान्छे खटाएर जानु पर्ने बताए । घर घरमा अभियान चलाएर जाँदा घरधुरी कर र घर बहाल करको बारेमा सबै रिपोर्ट महानगरपालिकासँग हुने बताए ।

‘राजश्व छुत र मिनाहा गरेर जाने महानगरको निर्णयले कसैलाई छुट कसैलाई सँधैको कर तिर्नु पर्ने अवस्था सिर्जना गरेको छ, अधिकारीले भने, हरेक वर्ष मिनाहा गर्दै जाने खालको योजना ल्याउनु हुँदैन । कोहीलाई छुट गर्दै जाने, तिर्नेले तिर्दै जानेखालको नीतिको अन्त्य गरेर जानु पर्छ ।’

उनले नागरिकमा विकासको अनुभूति हुने बित्तिकै कर तिर्न उत्साहित हुने भएकोले विकास सँग करलाई जोड्न आग्रह गरे । कार्यक्रममा विराट व्यापार संघका धरणी निरौला, सिएनआईका देवेन्द्र गुप्ता, सहकारी संघका लक्ष्मी सापकोटा लगायतले महानगरले थालेको कर शिक्षा अभियान र कर सङ्कलन अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *