आईसीसी विश्वकप लिग २ : नेपालद्वारा यूएई पराजित
कठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत भएको खेलमा आज नेपालले यूएईलाई पराजित गरेको नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।
नेपालले जितका लागि घरेलु टोली यूएईलाई दिएको २३० रनको लक्ष्य पच्छ्याउने क्रममा युएईले ४५ ओभरमा अलआउट हुँदै जम्मा १८७ रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा २२९ रन बनाएको थियो ।
सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । नेपालले लिग २ मा यूएईलाई हराएको यो पहिलो पटक हो । यो जितसँग नेपाल यूएईलाई पछि पार्दै लिग–२ को अंकतालिकामा ३२ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । अब नेपालले ४ मध्ये २ खेलमा जित निकाले ओडिआई मान्यता पाउने छ ।
यूएईका लागि ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाए ।
४२ औँ ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई आउट गरेका थिए । लगत्तै उनले कार्तिक मयाप्पनलाई पनि आउट गरी लगातार २ विकेटको रेकर्ड बनाए ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा आउट गरे । आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै यूएईलाई खेलामा फर्काएका थिए ।
दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा आउट गरेर दोस्रो सफलता दिलाए । उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आरिफले ३० औँ ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा आउट गरे ।
सोमपाल कामीले ३४ औँ ओभरको पाँचौं बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । मुस्तफा सोमपाल कामीको बलमा ६ रनमा आउट भए । आयन खान २ रनमा रन आउट भए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।
नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रन जोडे । भीमको यो पहिलो अन्तर्राष्ट्रिय उच्च अंक हो । भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट आउट भए ।
आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रन बनाए । प्रतिश जिसीले ६ बलमा १ चौकासहित ११ रन बनाए । नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौँ विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरे । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए ।
ज्ञानेन्द्र मल्ल नवौं ओभरको अन्तिम बलमा ११ रनमा आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भए । कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।