शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । ‘हामी सकारको नेतृत्व गरिरहेका छौँ, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौँ’, उनले भने, ‘कयौँ पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौँ, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।’
पार्टी र सरकारसम्म जनताका आवाज पु¥याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।
‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुुभयो’, उनले भने, ‘हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’
अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताए । पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताए ।
सो क्रममा माओवादी केन्द्र धुनीबेँसीका अध्यक्ष राजकुमार पाठक, गल्छीका अध्यक्ष रामशरण सिन्चुरीलगायतले मन्त्री शर्मालाई पार्टी गतिविधिबारे अवगत गराउँदै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको उल्लेख गरेका थिए ।