अन्तर्राष्ट्रिय नारी दिवस

ऐश्वर्याकाे बाँसुरी धुनमा छमछमी नाचे महिला (तस्बिरसहित)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ बुद्धचोककी ऐश्वर्या चेम्जोङ राई बुधबार दिउँसो एउटा कार्यक्रममा बाँसुरी बजाउँदै थिइन् । आफ्नो कला यस्ता कार्यक्रमहरूमा सुनाउन रुचाउने उनी महिलाको कार्यक्रममा बढी जान रुचाउँछिन् । बुधबार पनि विराटनगरमा घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।

कालो ब्यागमा भरिएको बाँसुरी बोकेर स्टेज प्रवेश गरेकी चेम्जोङले रेसम फिरिरि बोलको गीतको धुन बजाउँदा सबैले ताली बजाउँदै उनको बाँसुरीको धुनमा सबैले सहयोग गरे । उनी बाँसुरी बजाउँदै गर्दा तल हलभरि रहेका महिलाहरूले उनको बाँसुरीको धुनमा साथ दिँदै गीत गाएर सघाउँथे ।

उमेरले ५४ वर्ष पार गरेकी चेम्जोङले गीत गाउँदै गर्दा आफ्नो कलाले सबैलाई मन्त्रमुग्ध मात्र बनाइनन्, लामो समयसम्म कार्यक्रमको पर्खाइमा हाइकाट्दै बसेका हलभरिका सहभागीहरूलाई ऊर्जावान् बनाइन् । उनले गीत मात्र गाइनन् आफ्ना अनुभवहरू पनि सुनाइन् । ‘महिलाका कार्यक्रममा मात्र गएर बाँसुरी बजाउने गरेको छु, उनले भनिन्, अनलाइनको प्रयोगले अग्रजबाट सिक्दै आएको हो, उनले भने, २०७८ मा ३ महिने प्रशिक्षण रेडियो नेपालमा गरेको थिएँ ।’

महिला उद्यमीको अवस्था कमजोर

कार्यक्रममा महिला उद्यमीको वर्तमान अवस्था राजनीति हस्तक्षेपको कारण कमजोर रहेको औँल्याइएको छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा आयोजित आर्थिक समृद्धिमा महिला उद्यमीको भूमिका विषयक कार्यशालामा सहभागी महिलाहरूले प्रविधिको पहुँचमा कमी तथा राजनीतिक हस्तक्षेपले महिलाको आर्थिक समृद्धि हुन नसकेको बताए ।

सहभागीले सामाजिक सांस्कृतिक अवस्था, आर्थिक अधिकार नहुनु हौसला र उत्प्रेरणाको कमी, जोखिम बहन गर्न नखोज्नु तथा सूचनाको कमीले व्यावसायिक तथा आर्थिक समृद्धिमा समस्याहरू आइरहेको बताए । महिला उद्यमी सरू केसीले प्रविधिमा पहुँच, सूचना प्राप्त गर्न खोज्नु, स्वच्छ प्रतिस्पर्धा, सम्मान जनक व्यवहार, सम्बन्ध र सहकार्य, सामूहिक बजारीकरण र व्यावसायिक योजना निर्माण गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति मोरङको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा भएको कार्यक्रममा तीन क्षेत्रमा योगदान पुर्‍याएका महिलालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सुनिता भट्टराई, दुई दशकदेखि आन्तरिक सजावटको क्षेत्रमा उद्यमी कृती भट्टराई उपाध्याय र कला क्षेत्रमा विगत तीन दशकदेखि योगदान पुर्याउने दिपाश्री निरौला रहेका छन् ।

घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले महिला उद्यमीका लागि तालिम सहितको क्षमता विकासका कार्यक्रम गर्दै आएको बताए । महिला उद्यमशीलताको लागि प्रोत्साहित गर्नका लागि हरेक वर्ष सम्मानित गर्न लागिएको बताए ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *