उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा अध्यक्षको मनोनयन दर्ता शुल्क दुई लाख
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अधिवेशनकाे मनोनयन दर्ता दुई लाख तोकिएको छ । पाँच प्रदेश साधारणसभा आगामी चैत ९ गते हुने भएको छ । सभामा अध्यक्ष पदको उम्मेदवार बन्न मनोनयन शुल्क दुई लाख तोकिएको हो ।
उपाध्यक्ष पदका लागि एक लाख, कोषाध्यक्ष पदमा ७५ हजार र कार्यकारिणी सदस्य पदमा ५० हजार मनोनयन शुल्क तोकिएको महासंघले जनाएको छ । उम्मेदवारी दर्ता भएर पुनः फिर्ता लिएपनि शुल्क भने फिर्ता नहुने जनाइएको छ ।
सभामा सहभागी हुन आर्थिक वर्ष २०७९-८० को वार्षिक सदस्यता शुल्क बुझाएको हुनुपर्ने महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सदस्यता शुल्क बुझाउने समय सीमा आगामी चैत ५ गतेसम्म तोकिएको छ ।
महासंघले सदस्य रहेका १४ वटै जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई साधारणसभामा निमन्त्रणा गर्दै पत्राचारसमेत गरेको छ । आगामी प्रदेश सभा तथा निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश साधारण सभा तथा निर्वाचनमा भाग लिने समितिले तेस्रो नेतृत्व पाउने छ ।