सुनसरीमा एमालेको १२४ वडा लक्षित अभियान
विराटनगर । नेकपा एमाले सुनसरीले सुनसरीका १ सय २४ वटै वडामा संगठन विस्तार र सुधारका लागि जिम्मेवारी तोकेको छ । नेकपा एमाले सुनसरीको सातौँ जिल्ला कमिटीको पूर्ण बैठकले १२ वटा पालिकाका वडामा ग्रासरुट अभियान अन्तरगत जिम्मेवारी तोकेको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले बताए । बैठकले सबै जिल्ला सदस्यहरुलाई फरक भूगोल हुनेगरी जिम्मेवारी निर्धारण गरेको छ ।
केन्द्र, प्रदेश र जिल्लाको कार्ययोजना अन्तरगत १२ वटै पालिका कमिटीले पालिकाको बैठक बसी सबै पालिका सदस्यहरूको फरक वडाहरूको जिम्मेवारी तोकेर गर्नुपर्ने कामको कार्ययोजना निर्माण गरेको सुनसरी जिल्लामा वडागत कार्यहरू गर्नु पर्ने भण्डारीले बताए ।
‘पार्टीले अगाडी सारेको मिसन ग्रासरुटको बारेमा अभिमुखीकरण गर्ने, १० औँ महाधिवेशनको नारा र कार्यदिशाका बारेमा बताउने, विधान, नियमावली, दस्ताबेज, अपानी, निर्देशन र सर्कुलरको बारेमा छलफल गर्ने निर्णय भएको छ,’ भण्डारीले भने, ‘वडा पार्टी कार्यालय नभएका वडाहरूमा वडा कार्यालय व्यवस्थित गर्ने भनिएको छ ।’कार्यालयको व्यवस्थापनमा सरसफाइ, पुष्पलाल, मनमोहन र मदनका फोटा, राष्ट्रिय
झण्डा, पार्टीको झण्डा र सूर्य चिन्हको झण्डा राख्ने, माइन्युट, लेटरप्याड, स्ट्याम्प, स्ट्याम्प प्याड, सर्कुलर, पुस्तक तथा अध्ययन सामाग्रीहरूको व्यवस्थापन, पार्टी सदस्यहरूको विवरण यकिन गर्ने, मृत्यु भएका सदस्यको पहिचान गरी हटाउने, सरुवा भएर गएका सदस्यहरूको विवरण टिप्ने, टोल अन्तरगतका सदस्यहरूको विवरण छुट्याउने, टोलले विदेशमा भएका सदस्यहरूको विवरणहरूलाई सम्पर्क गर्ने, नाम सहितको सङ्ख्या तोकेर नवीकरण गर्न जिम्मेवारी दिने र नवीकरणको मिति निश्चित गर्ने र सदस्यता नवीकरण गर्न भनिएको भण्डारीले बताए ।
भूमिगत राजनीतिक कालमा सेल्टर दिनेहरूको पहिचान, छलफल गरी टिपोट गर्ने, बृद्धबृद्धाहरुसँग पार्टीको बारेमा छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गर्ने भनिएको छ, उनले भने, विभिन्न सार्वजनिक स्थलहरूको संरक्षण, रंगरोकन, सजावट, बगैँचा निर्माण तथा नामकरण गर्न सहजीकरण गर्नुपर्ने छ । पार्टीको पहिचान हुनेखालको रंगरोकन, एरो राख्ने, फूलबारीको नामकरण गर्न आग्रह गरेको छ।