मिल्स गोल्डकप : ध्रुवतारा क्लब झापा सेमिफाइनलमा
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म २/२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो । जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रवीण राई, रोशन तामाङ, ओमप्रकाश तामाङ, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, विक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गोल गर्न चुके ।
सुनसरीको तर्फबाट सुशन लामा, विवेक राई, चन्दन मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरुङ, सजन मगर, विवेक गुरुङले मात्र गोल गरेका थिए । सुनसरीका सुजित चौधरी र सिजल राईले गोल गर्न असफल रहँदा घर फर्किन बाध्य भयो । खेल सुरु भएको ११ औँ मिनेटमा ध्रुवताराका आयूष श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो हाफसम्म अग्रता कायम गरेको ध्रुवताराले दोस्रो हाफदेखि शान्तिनगरले आक्रामक खेल पस्कियो । खेल सुरू भएको ४४ मिनेटमा विष्णु श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । सिजल राईले निकालिदिएको क्रस पास विष्णुले गोलमा परिणत गरेका थिए । दोस्रो हाफदेखि दबाबमा राखेको शान्तिनगरका क्याप्टेन सुसन लामाले ६४ औँ मिनेट गोल गरी दोब्बर बनाए ।
खेलको ८२ औँ मिनेटमा ध्रुवताराका प्रवीण राईले गोल गरी खेल बराबरीमा ल्याए । डिबक्स भित्र शान्तिनगरका खेलाडीले डिबक्स भित्र फल गरेपछि धुव्रताराले पेनाल्टी पाएको थियो । पेलान्टीमा राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडी झापाको प्रवीण राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेलले वितरण गरेका थिए ।
आजको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ । प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ । विजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।