पूर्वमन्त्री न्यौपानेले रुँदै भने– विशेष अदालतकाे आदेशविरुद्ध पुनरावलोनमा जान पैसा छैन (भिडिओ)
काठमाडौँ । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले आफ्नो राजनीति सिध्याउने प्रयास भइरहेको बताएका छन् । भ्रष्टाचार मुद्दामा साढे ९ वर्ष कैद तथा ४ करोड ९६ लाख जरिवानासहित विगो तिराउन अदालतले फैसला सुनाएपछि मंगलबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र अदालतबाट त्यसैअनुसारको फैसला भएको बताएका छन् ।
समाज कल्याण परिषद्अन्तर्गतको भृकुटी मण्डप कार्यालयले व्यवस्थापन गर्दै आएको जग्गा भाडामा लगाउने कार्यक्रमा उनले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो । उक्त मुद्दामा दोषी ठहर गर्दै उनलाई अदालतले कैदसहित जरिवाना र विगो भराउन आदेश दिएको थियो । तर, आफूमाथि पूर्वाग्रही व्यवहार भएको उनले बताएका हुन् ।
भिडिओ
समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेकोमा आफूले बोर्डको फूल बैठक राखेको र मन्त्रिपरिषद्मासमेत प्रस्ताव लगेको उनले बताए ।
‘मन्त्रिपरिषद्ले परिषद् आफैंमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु भनेर आएपछि मैले बोर्ड बैठक राखेर निर्णय गरेको हो,’ उनले भने, ‘एक लाख ७५ हजार (भ्याटसहित ३ लाख २ हजार ४००) रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरिएको छ । ५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ । त्यसलाई इच्छुमती तरकारी बजारसँग (भएको सम्झौता) दाँजेर ममाथि लान्छना लगाइयो ।’
उनले उक्त जग्गा भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई भने ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाही भएको बताए ।
विशेष अदालतको उक्त आदेश पूर्वाग्रही भएको तर आफूले उक्त आदेशविरुद्ध पुनरावलोकनका लागि अदालत जान पैसा नभएको उनले बताए ।
‘पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । काठमाडौँमा डेरामा बस्छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’