मलमा अनुदान कटौतीविरूद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौँ । रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन किसान संघ संगठनहरुले सरकारसँग भाग गरेका छन् । कांग्रेसको नेपाल किसान महासंघ, एमालेको अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौँमा बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

उनीहरुले यसका लागि पहिला प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने बताएका छन् । ज्ञापन पत्र बुझाउँदा पनि माग सुनुवाई नभए देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले बताए ।

उनले भने, ‘आज देशभरी किसान संघ, सङ्गठनहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । त्यसैले म अनुरोध र आग्रह गर्न चाहन्छु–नेपाल सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय पुनर्विचार गरियोस् । र, नेपाली किसानहरूले पाएको एक मात्रै अनुदान त्यो मलमा दिइएको अनुदान त्यो पुनर्स्थापित होस् । हामी यतिबेला यही अनुरोध र आग्रह गर्न चाहन्छौँ । हामी आन्दोलनमा ओर्ली सकेका छौं । आम किसानहरु एकपछि अर्को समस्या बल्झिएर, पीडित भएर रोईरहेका छन । ती किसानहरूलाई मलमपट्टी लगाउनका लागि, उनीहरूलाई राहत दिनका लागि हाम्रो जोडबल रहनेछ ।’

सरकारले २६ फागुनमा रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *