याे गठबन्धन वैशाखमै टुट्दैन, ५ वर्षसम्म टिक्छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन पूरै ५ वर्ष टिक्ने ठोकुवा गरेका छन् । उनले अघिल्लो गठबन्धन किन बन्यो र फुट्यो भन्नेमा पनि आत्म समीक्षा गर्नुपर्ने बताए ।
‘नेपालको राजनीति तरल अवस्थामा छ,’ उनले भने, ‘सरकार यति छिटोछिटो परिवर्तन भइरहँदा म पनि अन्योलमा परेको छु । पहिलाको गठबन्धनको प्रमुख घटकलाई घोक्र्याएर निकालिएको हो कि के हो भन्ने कुरा आत्मसमीक्षाको विषय बन्नु पर्दछ ।’
उनले १० पुसमा बनेको गठबन्धन १२ फागुनसम्म आइपुग्दा ढल्छ भन्ने कुराको पूर्वाभास आफूहरुलाई पहिल्यै भएको उनले बताए ।
‘हामीले राजनीतिका घटकहरुको नाडी छामेका छौँ,’ उनले भने, ‘१० पुसमा बनेको गठबन्धन १२ पुसमा भत्किने मलाई पूर्वाभास भएकै थियो । उक्त गठबन्धन टुट्नु नै थियो । टुट्यो ।’
तर अबको गठबन्धन पूरै पाँच वर्ष टिक्ने उनले बताए ।
‘अबको गठबन्धन पूरै ५ वर्ष टिक्छ,’ उनले भने, ‘२१ महिनासम्म १२ दललाई साथमा लिएर मैले हिँडेको अनुभव छ । त्यसैले यो गठबन्धन टिक्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको प्रतिवद्धता पूरा गर्नुपर्ने उनले बताए ।
आफूले २६ पुसमा विश्वसको मत दिँदा प्रचण्डसँग राखेको शर्तहरु पूरा गर्ने बेला अब आउन लागेको उनले बताए ।