स्वतन्त्र सांसद प्रभु साहकाे कटाक्ष– ‘कांग्रेस सरकारमा आउने भएपछि एमाले किन बाहिरियाे ?’
काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले नेकपा एमालेप्रति कटाक्ष गर्दै संसदमा आफ्ना भनाइ राखेका छन् । एमाले सरकारबाट आफुखुसी बाहिरिएको आरोप लगाउँदै उनले एमालेप्रति यस्तो कटाक्ष गरेका हुन् । उनले १० पुसमा बनेको गठबबन्धनका कारण एमालेले पाएको सभामुख पदतर्फ लक्षित गर्दै उनले उक्त नाफा फिर्ता गर्नुपर्ने समेत बताए ।
‘अहिलेको समस्या राष्ट्रिय सहमति बिना समाधान गर्न संभव छैन,’ उनले भने, ‘कांग्रेस सरकारमा आउँदा कांग्रेसले राष्ट्रपति पाउँदा एमाले किन सरकारबाट बाहिरियो ?’
उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समेत बताए ।
माओवादीबाट राजनीति सुरु गरेका साह माओवादी र एमाले मिलेर बनेको नेकपा विभाजनपछि एमालेतिर बसेका थिए । तर, गत निर्वाचनमा एमालेले दिएको टिकट त्यागेर रौतहट ३ बाट उनी स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेर जितेका थिए ।
अहिले फेरि उनी नेकपा माओवादी केन्द्रको यो सत्ता गठबन्धनतर्फ ढल्किएका छन् ।