अब कहिले होला ओली–प्रचण्डबीच ‘याराना’ दोस्ती ?
काठमाडौँ । १० पुसमा ओली–प्रचण्ड मिलनले नेपाली राजनीति तरंगित बन्यो । लगभग साढे दुई वर्षसम्म पानी बाराबारको अवस्थामा रहेका दुई ‘कम्युनिस्ट पाइलट’हरुको मिलन स्वाभाविक थिएन । किनकी पुस १० अघि उनीहरु शत्रुतापूर्ण व्यवहार देखाउँथे ।
केन्द्रदेखि प्रदेशसम्मै सत्ता गुमाएर छटपटिएका ओली र जसरी पनि प्रधानमन्त्री बन्ने हुटहुटी बोकेका प्रचण्डले बालकोटको बार्दलीमा एकअर्काबीच आत्मसमर्पण गरे ।
एकअर्कालाई गाली गरेर नथाक्ने ओली र प्रचण्डले १० पुसमा बालकोटको बार्दलीमा कुम जोड्दै हात हल्लाउँदै नयाँ राजनीतिक गठजोडको अभ्यास सुरु गरे । ओली–प्रचण्ड मिल्दा एमाले माओवादीका कार्यकर्तामा छाएको खुसीको रौनक र कांग्रेसी वृत्तमा छाएको निराशा र आक्रोश हेर्न लायक थियो ।
१० पुसमा, नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले माओवादीलाई साथ दिएर सत्ताको बागडोरबाट कांग्रेसलाई पन्छाए । सम्भवतः अध्यक्ष ओली उदार नभएको भए, आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा विराजमान हुँदैन थिए । बाह्य शक्तिको चासो खुलेआम व्यक्त भएपछि ‘सत्ता सुकुम्बासी’ बन्न लागेका प्रचण्ड, ओलीकै आश्रयबाट सत्तारोहण भएका थिए ।
राष्ट्रपतिमा एमालेलाई सघाउने सर्तमा प्रधानमन्त्री बने प्रचण्ड । तर प्रधानमन्त्रीको कुर्सीमा भौतिक रूपमा प्रचण्ड बसे पनि रणनीतिक हिसाबमा ओलीले कुर्सी घुमाउन थालेपछि भने सत्ताको ‘मानचित्र’ र ‘चरित्र’ केही दिनमै बदलियो । राष्ट्रपतिमा एमालेलाई बचन दिएका प्रचण्डले सिधा, राष्ट्रिय सहमतिको अवधारणा अघि सार्न थाले । अवधारणा मात्रै अघि बढाएनन्, राष्ट्रिय सहमतिको राग अलाप्दै त्यसमा अडानसमेत लिए ।
१० पुसमा नयाँ गठबन्धन बनेर माओवादी नेतृत्वमा बनेको सरकार नौ हप्ता पनि टिकेन । अन्ततः १२ फागुनमा राष्ट्रपतिकै कारण गठबन्धन टुट्यो । सरकारले नयाँ दलहरूको समर्थन र विश्वासको मत लिनु पर्ने अवस्था आयो । अन्ततः सत्ताका लागि ‘ढोक्सा’ थालेको कांग्रेसको ढोक्सामा माछैमाछा परे । जनताका लागि ‘कागलाई बेल पाकेको’ भए पनि यी कांग्रेसलगायत ११ राजनीतिक नेताले थापेको ढोक्सेमा माछैमाछा परेका छन् ।
षड्यन्त्रको खेलमा जहिले पनि एकतासँगै कसरी एकअर्कालाई धोका दिने भन्ने सोच पलाइरहन्छ । परिस्थिति फेरिनेबित्तिकै राजनीतिको चाल, चरित्र सोही अनुकूल फेरिने गर्छ । हिजोका शत्रु मित्रमा फेरिन्छन् भने मित्र शत्रुमा । मन मिलेको नाटकसँगै कसरी एकअर्कालाई पछाडिबाट सिध्याउने भन्ने खेल सुरु हुन्छ भनेर नियाल्न एमाले–माओवादी एकता र फुटलाई नियाले पुग्छ ।
नैतिकता, इमान–जमान र नीति सिद्धान्त हराएको नेपाली राजनीतिमा यस्ता पात्रहरूको मेल फेरि पनि जुनसुकै बेला पनि हुन सक्ने देखिन्छ ।
आफ्ना अनैतिक तथा बेइमानी व्यवहारलाई सामान्यीकरण गर्दै सत्ता, शक्ति र पैसाका लागि जे पनि गर्ने यी नै नेताहरुले एउटा भाष्य जबरजस्ती रूपमा नेपाली राजनीतिमा स्थापित गरेकै छन् । त्यो हो– ‘राजनीति सम्भावनाहरूको खेल हो ।’ यही यही भाष्यलाई उच्चारण गर्दै यनीहरु केही दिनपछि पुनः उही बार्दलीमा उपस्थित भई कुम जोडेर हात हल्लाए भने पनि अनौठो नमाने हुन्छ ।
ओली–प्रचण्डको ‘याराना दोस्ती’ अब कहिले होला त ? यो अहिले आम मानिसको मनमा उठेको प्रश्न हो । यो प्रश्नको जवाफ समयसँग नै माग्नुपर्छ । समयले नै यसको जवाफ दिने छ । यद्यपि, उनीहरूको पुनः मिलनका लागि लागि कुनै आइतबार कुनै पर्ने, कुनै साइत जुर्नुपर्ने वा लामो समय प्रतीक्षा गर्नुपर्ने छैन । किनभने सत्ता, शक्ति र धन आर्जनको क्षणिक स्वार्थ मिलेकै समय यिनीहरू फेरि बार्दली वा कुनै त्यस्तै मञ्चमा झुल्किने छन् । उसैगरी कुम जाेड्ने छन् । उसैगरी हात हल्लाउने छन् ।