अझै पनि ‘बैकिनीका आँसुमा डुब्छ बयलपाटा’

देश त यस्तो पो रहेछ, लोग्ने शक्ति त यसरी बैकिनी (महिला)को ‘ढेल ढाकन्या सत्ता’ (नितम्त्र ढाक्ने लुगा) र नुन तेल जोर्न बिदेसिएको पो रहेछ, बयलपाटा त यसरी बाझिएको पो रहेछ, बैकिनीको बहमा डुबेको पो रहेछ ।

‘बैकिनीका आँसुमा डुब्छ बयलपाटा’ डा. तारानाथ शर्माद्वारा लिखित ‘जमर्काहरू(वि.सं २०२५)’ मा संकलित नियात्रा हो । यस नियात्रामा शर्माले समग्र नेपालको प्रतिनिधित्व गर्दै बयलपाटाका तरुणी महिलाहरूको आन्तरिक वेदनाको प्रतीक आँसुको भेलले बयलपाटालाई बगाउने हृदयविदारक तथ्यलाई प्रस्तुत गरेका छन् ।

‘इलाम’ शीर्षकको प्रबन्धबाट नेपाली साहित्यमा प्रवेश गरेका तानानाथ शर्माले समालोचना, भाषाविज्ञान र व्याकरण क्षेत्रमा कलम चलाएपनि यात्रा साहित्यमा विशेष योगदान पुर्‍याएको देखिन्छ । वि.सं १९९१ असार ९ गते बरबोटे इलाममा जन्मेका उनले विभिन्न मान, सम्मान र पदक समेत प्राप्त गरेका छन् । उनका निबन्धहरूमा सामन्तवादको चर्को विरोध गर्दै सामाजिक बेथितिप्रति व्यङ्ग्य प्रहार गरिएको पाइन्छ ।

निबन्धको सुरुमा लेखक पश्चिम पहाडको अनकन्टार पैदल हिँडेर अछामको हरियो गहुँ, पहेँलो तोरी र हिममय डाँडालाई हेर्दै अछामको बयलपाटामा पुगेका छन् । त्यही बयलपाटाको कथालाई यस नियात्रामा चित्रात्मक ढंगबाट प्रस्तुत गरेका छन् । प्रकृतिको सुन्दर चित्रण र बैकिनीहरूका निस्सार एवम् रुखो जीवन भोगाइले निबन्धलाई हृदयस्पर्शी बनाएको छ ।

लेखकले अछामलाई पश्चिम पहाडको राम्रो, सुकिलो र सबैभन्दा अनौठो स्थान भनेका छन् । जहाँ डाँडामा एउटामात्र हाई स्कुल छ, नौ मुठे गाई पाइन्छ र भेडाका हुलले नुन र चामल ओसार्छन् । बयलपाटामा बिस/पच्चिस वटा स-साना घर देखिन्छन् जुन स्टिले छाएका हुन्छन् । त्यहाँका बैकिनीहरू गुन्यू लगाउँछन् र थाप्लोमा भारी बोक्छन् । बैकान (लोग्ने)हरू भारतको बम्बईमा जान्छन् । जसकारण उनीहरूको आर्थिक अवस्था सुध्रिएको छ ।

अछामबाट काठमाडौँ टाढा छ । दिनहरू सुल्किँदै गर्दा खप्तडको लेकमा पग्लिरहेको हिउँ र हरियै मुस्कुराइरहेको अछामलाई देखेर लेखक जाऊँ कि बसुँको दोधारमा परेका छन् । जन्मनुअघि बालक गर्भमा गुजुल्टिए झैँ लेखक अछाम आमाको गर्भमा गुजुल्टिएको बताउँछन् ।

बाटोमा हिँड्दै गर्दा एक हुल आइमाईहरूले लेखकलाई ‘काँका हव्’ अर्थात् कुन ठाउँको ? भनी प्रश्न गर्दा उनले यतै उतैको भनी जवाफ दिन्छन् । आइमाईहरूले बम्बईको हो भनी सोध्दा काठमाडौँको पो भनी जवाफ लेखकले दिन्छन् । केहिपर स्वास्नीमान्छेहरूको अर्को हुल आउँछ र फेरी उही प्रश्न तेस्र्याउँछ ‘बम्बईका हव् ?’ । त्यहाँ यस्तै हुल र प्रश्नहरू दोहोरिन्छन् ।

लेखक जुनेली कोटबाट फर्कँदा एउटा आमा र उसकी सानो छोरी बाटोमा बिसाएर रोटी खाँदैगरेको देख्छन् । ‘रोटी खाँदा भया क्या ?’ भन्दा ती आमाले उनलाई गहुँको भुक्कै रोटी दिन्छन् । लेखक त्यो रोटीलाई अमृततुल्य मानेर खान्छन् । लेखक यताउति घुम्छन् जताततै आइमाई नै आइमाई देख्छन् ।

लेखकले त्यस क्षेत्रको सुन्दरतालाई लात हानेर ४० हजार बैकानहरू (लोग्ने मान्छेहरू) आफ्नो पार्वती तुल्य बैकिनीहरूलाई अलपत्रै पारेर बम्बई पसेका कुरा थाहा पाउँछन् । ती बैकानहरू बम्बईमा लाठा बोकेर पाले बस्ने काम गर्दा रहेछन् ।

त्यहाँका तरुणीहरूले कसरी मन थाम्ने र कति थाम्ने ?, उनीहरूको आँसु बुढी गंगा भएर जति बगेपनि पहाडका पत्रहरूले उनीहरूलाई किचेर राखेको लेखक बताउँछन् ।

बैकिनीहरू सारा कुना काप्चा र डाँडा, खोलालाई रुवाउँदै गीत गाउँछन् :-

‘भेट्याहले क्या भनी खायो गौको वालो उमी

भिना कैले फर्कन्या हव् आफ्नो जन्मभूमि’

तर पनि बैकानहरू ढुङ्गाको मुटु बनाएर बम्बई जान्छन् । बैकानहरू निस्ठुरी बम्बई भासिएपनि यहाँका बैकिनीहरूले अछामलाई अदम्य माया गरिरहने, सन्टाल्नुहरू (मध्य नेपालका सारुङ र पूर्वी नेपालका रुपी) चिर्बिराई नै रहने, खोलाहरू सुसाई नै रहने र बैकिनीहरू गीत गाई नै रहने लेखक बताउँछन् ।

अन्त्यमा लेखकले बैकिनीहरूलाई धर्ती, अचल, विशाल, परोपकारी र देशप्रेमी देख्छन् । लेखकले भनेका छन् ‘ अछाम रोई रहे छ, धर्ति रोई रही छ ।’

अछामको बैकिनी पनि आफ्ना दुःख यसरी पोख्छिन् :-

‘तमी बैकान गाड(खोला) जस्तै ह्व- बग्छव । हामीलाई बैकानले भिजाउनु पर्छ, मायाले भिजाउनु पर्छ । तर ब्या गरेकै बर्स बम्बई गयाका पोइ सात बर्स भया अझ आयाका छैन । तमी भँद पर्न ’

वास्तवमै बैकिनीको आँसुले बयलपाटा डुबेको छ । राष्ट्रिय प्रकृति, मानवीय संस्कृति तथा दैनन्दिनका विवशताहरू यस निबन्धमा सहकारी रूपमा आएका छन् । नेपालको भौगोलिक, सामाजिक तथा आर्थिक परिपाटीप्रति लेखकले घुमाउरो छेड हान्दै बयलपाटाका बैकिनीहरूको रुखो जीवन भोगाइप्रति लेखकले सहानुभूति प्रकट गरेका छन् ।

अहिले नेपाल पनि बयलपाटाजस्तै आँसुले डुबिरहेको छ । यहाँका युवाहरू बिदेसिएका छन् । देशमा बुढा र बच्चाहरू मात्र रहन थालेको छ । बयलपाटालाई लेखकले सहानुभूति प्रकट गरेझैँ आज नेपाललाई कसले सहानुभूति दिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *