मधेश सरकारले फेर्यो मन्त्रालयको नाम
जनकपुरधाम। मधेश प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ को अनुसूचीमा हेरफेर गर्दै मन्त्रालयहरुको नाम समायोजन गरेको हो ।
सरकारले पहिले नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय तोकिएको थियो । उक्त संख्या यथावत राख्दै मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कायम राखिएको छ ।
उद्योग, पर्यटन तथा वन मन्त्रालयहरुको नाम परिवर्तन गरी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय राखिएको छ। खानेपानी तथा उर्जा विकास मन्त्रालयको नाम परिवर्तन गरी ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय बनाएको छ ।
गृह तथा सञ्चारमा कानून थपेर गृह, सञ्चार तथा कानुन मन्त्रालय बनाएको छ । उद्योगलाई हटाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ।
यस्तै सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य अलग पारेर शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलग अलग राखेको छ।
अब महिला, बालवालिका तथा खेलकूद मन्त्रालय रहने छैन् । उक्त मन्त्रालयको सट्टा श्रम तथा यातायात मन्त्रालय बनाएको छ।