तनहुँ–१ : उम्मेदवार छान्न कांग्रेस गण्डकीद्वारा १२ जनाको नाम सिफारिस
पोखरा । तनहुँ १ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट आकांक्षी १२ जनाको नाम गण्डकी प्रदेश समितिले केन्द्रमा सिफारिस गरेको छ । जिल्लाबाट आएका सबै नामलाई प्रदेश पदाधिकारी बैठकले काटछाँट नगरी पठाएको हो ।
महामन्त्री विष्णु लामिछानेका अनुसार सबै जना चुनावका लागि योग्य भएकोले आवश्यक निर्णय गर्न सिफारिस गरिएको हो ।
‘सबै जनालाई बोलाएर सम्झाई–बुझाई टिकट दिनू भनेर राय लेखेका छौँ । हाम्रा लागि सबै बराबर हुनुहुन्छ, हामीले टाउको दुखाउन चाहेनौँ,’ उनले भने ।
क्षेत्रीय समितिबाट जिल्ला हुँदै प्रदेशमा उनीहरुको नाम सिफारिस भएको थियो । तनहुँ १ मा सबैभन्दा प्रबल दावेदारका रुपमा गोविन्द भट्टराईलाई हेरिएको छ । उनी चुनावी प्रचारमा समेत लागिसकेका छन् । भट्टराई सहित पुर्व सांसद र नेताहरुको आकांक्षा छ । पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, पूर्व सांसद रामचन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईले आकांक्षा देखाएका छन् ।
यस्तै, लक्ष्मी आचार्य, विष्णु पन्त, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, प्रदेशका पुर्व सांसद डोबाटे विश्वकर्मा र सरिता गुरुङ तथा अर्जुन अधिकारीले आकांक्षा राखेका हुन् । चुनावमा प्रतिश्पर्धाका लागि २६ राजनीतिक दलले दल दर्ता गरेका छन् । उक्त क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपचुनाव हुन लागेको हो ।