अब सरकारको ध्यान आर्थिक समृद्धितर्फ जानुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वित्तीय संघीयताबिना संघीयताको कुनै अर्थ नहुने बताएका छन् ।
देशमा अहिले संघीयता भए पनि प्रदेशहरुलाई वित्तीय संघीयतातर्फ नलगिएको बताएका छन् । अहिले देशमा अनेक समस्या देखिएको भन्दै अब सरकारले त्यसको समाधानमा लाग्नुपर्ने बताए । रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव (२५ औँ वार्षिकोत्सव) समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘देशमा राजनीतिक र आर्थिक दुवै क्षेत्रमा गम्भीर समस्या देखिएका छन् । आज वित्तीय क्षेत्रमा समस्या देखिरहेको छ । आर्थिक कारोबार ठप्प हुँदै आएको छ । राजस्व घट्दै गएको छ । देशमा आर्थिक संकट प्रवेश गरिसकेको संकेत हो । आर्थिक संकटबाट देशलाई जोगाउन अहिले ठूलो चुनौती देखिएको छ । सरकारले पूर्णता पाएको छ । अब आर्थिक विषयमा केन्द्रीत हुनुपर्ने छ । मधेशबाट निरन्तर १२ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याजीबाट पीडित जनताका आवाज सरकारले सुन्नुपर्छ । बुझ्नुपर्छ र समाधानको बाटो खोज्नुपर्दछ । र, यो संगै ग्रामीण भेगमा जनताहरुले सानोतानो कारोबारका लागि सजिलै ऋण उपलब्ध गराउन नसक्दा जनताले स्थानीय मिटर ब्याजमा पैसा लिनुपर्ने बाध्यता उत्पन्न भएको भन्दै त्यसको समाधान खोज्नुपर्ने बताए ।’