आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ : अर्थमन्त्री महत

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन् ।

शुक्रवार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । उनले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए ।

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गरे । उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने बताए ।

उनले अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताए । उनले लघुवित्त र सहकारीहरुमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताए ।

अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उनले महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने बताए । उनले पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *