बाहुनको भान्सामा दलितले छोएको भन्दै जब जनप्रतिनिधिले नै पाकिरहेको खाना घोप्ट्याइदिए…
पोखरा । घटना हो, कास्की माछापुच्छ्रे गाउँपालिका ५ रिभानको । गत फागुन २५ गते रिभानका सन्तोष परियारले दुई छोराहरूको व्रतबन्ध आयोजना गरे । व्रतबन्धमा आफन्त, छर छिमेक र जनप्रतिनिधि समेत निम्तालु थिए । पोखरा २९ भण्डारढिकबाट नारायण दमाई पनि व्रतबन्ध मान्न पुगे । राम्रैसँग चलिरहेको थियो, व्रतबन्ध । निम्तालुहरुले छोराहरूलाई टिका लगाएर खाना खाँदै निस्किँदै गरिरहेका थिए ।
नारायणपनि टिका लगाइवरी खाना खान भान्सामा गए । तर उनी गएको भान्सा बाहुन समुदायको परेछ । भान्सामा खटिएकी सीता लामिछानेले नारायणलाई थर सोधिन् । उनले इमान्दार भएर आफुँ दमाई भएको सुनाए । त्यसपछि सीताले भनिन्, ‘तिमिहरूको भान्सा यता होइन । आफ्नैतिर गएर खाऊ ।’ नारायणले जातीय विभेद गरेको महसुस गरे र सीताको बचनको प्रतिवाद गरे ।
यत्तिकैमा स्थानीय जनप्रतिनिधि समेत रहेका रामजी लामिछाने आएर पाकिरहेको खाना सबै घोप्ट्याइदिए । ‘तिमी दलितहरू ठूला पल्टिन थालेछौ । हाम्रो भान्छा जूठो भयो भन्दै रामजीले सबै खाना घोप्ट्याए,’ नारायण भन्छन् । त्यसपछि आफूले खाना नखाई फर्किएको उनले सुनाए । घर पुगेपछि उनलाई निम्तो गर्ने सन्तोषले फोन गरेर भने, ‘तिमीले भान्सामा गएर छोइदिएपछि सबै खाना फाल्नुप¥यो । मेरो डेढ लाख खेर गयो । तिम्रो कामले बाहुन क्षेत्रीको अपमान भयो, मेरो व्रतबन्धको कार्यक्रम नै विफल भयो । तिमीलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौँ ।’
त्यति सुनेपछि नारायणले पत्रकार सम्मेलन गरेर आफूमाथि विभेद भएको र न्याय खोजिदिन माग गरेका छन् । उनले जनप्रतिनिधि लामिछाने, भान्से सीता, छुट्टै भान्सा बनाउन दबाब दिने सन्दीप परियार र जातीय विभेद हुँदा पनि उल्टै धम्की दिएको आरोपमा सन्तोष परियार विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले सन्तोष र सुजनलाई पक्राउ गरेको छ । रामजी र सीता फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नारायणको मागमा मुक्ती समात कास्की, दलित संघ, दलित मुक्ति मोर्चा, दलित मुक्ती संगठन, दलित महिला संघ, विश्वकर्मा समाज, मिजार समाज, दलित सञ्जाल लगायतले विज्ञप्ति निकालेर विभेदप्रति खेद व्यक्त गरेका छन् । उनीहरूलाई इन्सेकले पनि साथ दिएको छ ।