बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले बारा २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएका उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
१० वैशाखमा हुने उक्त निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनमा रहेको दल जसपाका अध्यक्ष समेत रहेका यादवलाई सघाउने भएो हो ।
४ मंसिरको चुनावमा सप्तरी २ बाट उम्मेदवार बनेका यादवलाई जनमत पार्टीका अध्यक्ष समेत रहेको चन्द्रकान्त राउतले हराएका थिए । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यावदलाई जसपाले उपराष्ट्रपति बनाएपछि रिक्त भएको स्थानमा उपेन्द्रले चुनाव उठेर संसद प्रवेश गर्ने योजना बनाएका हुन् ।
तर, उपन्द्रलाई संसद प्रवेशबाट रोक्न जनमत पार्टीले भने पहिला माओवादीबाट सोही क्षेत्रमा चुनाव हारेका शिवचन्द्र कुशवाहालाई पार्टीमा ल्याएर उम्मेदवार बनाउन लागेको छ ।
उपेन्द्र यादवलाई नै गठबन्धनका अन्य दलले समेत समर्थन गर्ने भएपछि जनमत पार्टीले सरकार समेत छोडेर बाहिरिइसकेको छ ।
त्यस्तै, उक्त क्षेत्रमा लोसपाले राजेन्द्र महतोलाई उम्मेदवारको रुपमा अघि सारेको छ । रास्वपाले रमेश खरेललाई उम्मेदवार बन्न टिकट दिइसकेको छ । एमालेले भने यस क्षेत्रमा निर्णय लिइसकेको छैन ।
बैठकका निर्णय सुनाउँदै कांग्रेस सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले २०७९ को निर्वाचनभन्दा पहिला बागी र स्वतन्त्र उम्मेदवार उठी पार्टीको अनुशासनको कारबाहीमा परेकाहरुको कारवाही फुकुवा गरेको बताए । आगामी उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी
कारबाही फुकुवा गर्ने निर्णय भएको उनले बताए ।
यो निर्णय अनुसार कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा भएको छ ।
जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा पार्टीले अनुशासनको कारवाही गरेको थियो ।
उनले २०७९ को निर्वाचनका बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिइने बताए ।
उनले भने, ‘वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँको १ नम्बर निर्वाचन क्षेत्र हामीले पहिला नै उम्मेदवार प्रस्तुत गरिसकेका छौँ, गोविन्द भट्टराई, चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रस्तुत गरिसकेका छौँ । बारामा भने त्यहाँ हामीले साझा उम्मेदवार प्रस्तुत गर्नेगरी उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रुपमा स्वीकार्ने निर्णय गरेका छौँ ।’
बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रश्ताव पारित गरेका छौँ । राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अघिल्लो कार्य सम्पादन समितिमा प्रस्तुत भएका पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।