एफएनसीसीआईमा त्रिपक्षीय प्रतिस्पर्धा
वरिष्ठ उपाध्यक्षका प्रत्याशीहरूको यस्तो छ प्रतिबद्धता
मकालु खबर
२०७९ चैत २१ गते
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै व्यवसायीमाझ चुनावी सरगर्मी बढेको छ ।
निर्वाचन नजिकिएसँगै व्यवसायीहरूले प्यानल बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिम बनाएर उम्मेदवार तानातानमा व्यस्त छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् ।
वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिस्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार त्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।
त्यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेदवार बनेका छन् । मंगलबार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ । अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईको टिममा पुगेकी थिइन् । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरूको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रतिबद्धता जनाए भन्नेकुरा सबै व्यवसायीहरूको चासोको विषय छ । व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिबद्धता उनीहरूको छ । आइतबार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार मूल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरे ।
उनले उद्योगी व्यवसायीहरूका समस्याको समाधान गरी व्यवसायीहरूको हकहितमा निरन्तर लाग्ने अठोटसहित उम्मेदवारी दिएको बताए । उनले महासंघको सङ्गठनात्मक सुधार र समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीहरूको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने, प्रदेश च्याप्टरहरुको भूमिका थप बढाउने, केन्द्र, प्रदेश, जिल्ला नगर समन्वय बढाउने, देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिबद्धता जनाए । उनले कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने पनि बताए ।
त्यस्तै, सोमबार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मूल नारासहित उम्मेदवारी घोषणा गरेका छन् । उनले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आर्थिक काँचुली फेर्न निःस्वार्थ रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको स्पष्ट पारे । उम्मेदवार श्रेष्ठले बिना सर्त व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने बताए ।
महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिबद्धता जनाए । उनले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीको कठपुतली बन्न तयार रहेको उल्लेख गरे । उनले उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिबद्धता जनाए ।
अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायी माझ प्रतिबद्धता सार्वजनिक गरेका छैनन् । तर, श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी भने दर्ता गरिसकेका छन् ।
मकालु खबर
२०७९ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित