तिलगंगा आँखा अस्पताललाई आँखा उपचारको हब बनाऔँ : सांसद साह
काठमाडौँ । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउइन् ।
बहराइन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाउनु भएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पारे ।
सांसद साहले भनिन्, ‘विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौँ । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०/८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताइन् ।