धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै
धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठाभित्र धेरै वटा तारहरु राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा समेत करेन्ट लाग्दैन ।
धनकुटा नगरपालिका वडा नम्बर ७ कार्यालय र विद्युत प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ । सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत प्राधिकरणका कर्मचारीले तार फेर्ने काम भएको नगरपालिकाले जनाएको छ।
अब, विद्युत प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताए ।
‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ, बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको तार लगाउँन थालिएको हो,’ नगर प्रमुख तामाङले भने, ‘पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ, अब विद्युत प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाउँछौं ।’ यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर विद्युत प्राधिकरणले जनाएको छ ।