यो राष्ट्रिय सहमतिकै न्यूनतम साझा कार्यक्रम बनेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनले देशका धेरैजसो मसस्या समाधान हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि आफ्नो धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
सत्तारुढ १० दलीय गठबन्धनका तर्फबाट बिहीबार सरकारले सार्वजनिक गरेको सरकारका प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रमले देशमा अहिले विद्यमान सबै क्षेत्रका समस्या समाधानमा सघाउने उनको भनाइ छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा पनि बनाएका थियौँ,’ उनले भने, ‘र यसअघि सात दलीय गठबन्धनको सरकारले बनाएको साझा न्यूनतम कार्यक्रममा छुटेका विषय पनि समावेश गरी अझ परिमार्जित गरि यो कार्यक्रम तयार पारिएको छ ।’
उनले केही सार्वजनिक गर्नुअघि केही बुद्धिजीवीले न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययन गरेर उक्त कार्यक्रम वर्तमान समस्या समाधानमा सहयोगी हुने सुझाव दिएको पनि बताए ।
‘केही बुद्धिजीवीले यो कार्यक्रम पढ्नु भएछ, उहाँहरुले यसको मुक्तकण्ठले प्रशंसा गर्नु भएको छ,’ उनले भने, ‘यसको इमानदार कार्यान्वयनका लागि सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु पनि लाग्नु पर्ने छ । सचिवलगायत कर्मचारीहरु लाग्नुपर्ने छ । अहिले जे जस्तो समस्या देशका विभिन्न क्षेत्रमा छन्, यो कार्यक्रमले धेरै कुराको सम्बोधन गर्छ ।’
अहिलेका १० राजनीतिक दल र यसअघिको ७ दलको समेत बौद्धिकता यो साझा कार्यक्रम निर्माणमा परेकोले यो राष्ट्रिय सहमतिकै न्यूनतम साझा कार्यक्रम बनेको उनले बताए ।
‘अहिलेका १० राजनीतिक दलको दिमाग त यो कार्यक्रम बनाउन लागेकै छ पहिलेका ७ दलीय सरकारका दलका नेताहरुको पनि दिमाग लागेको छ,’ उनले भने, ‘त्यसो हुँदा यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम पनि हो भनेर बुझ्न सकिन्छ ।