संसदमा उठेका समस्याबारे मन्त्रीले किन जवाफ दिँदैनन् ? : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रतिनिधि सभाको बैठकमा सांसदले अनेक क्षेत्रका समस्याबारे कुरा उठाएको भए पनि सरकारले कुनै जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन् ।
संसदको आकस्मिक समयमा बोल्दै उनले संसदको हालसम्मका १९ वटा बैठकमा विभिन्न समस्याबारे सांसदको कुरा उठाए पनि सरकारका सम्बन्धित मन्त्रीले संसदमा आएर कुनै जवाफ नदिएको बताए ।
‘सांसदले संसदमा कुरा उठाइरहने, सरकारले कुनै जवाफ नदिने हो भने हामीले संसदमा बोल्नुको कुनै औचित्य रहँदैन,’ उनले भने, ‘त्यसो हुँदा सरकारका मन्त्रीलाई संसदमा बोलाएर जवाफ दिने गरी सभामुखबाट रुलिङ होस् ।’
जनताका समस्या पाेख्ने थलाे संसद भएकाेले संसदमा उठेका विषयकाे जवाफ सरकारले दिनु पर्ने बताए ।
‘२५ पुसबाट सुरु भएको संसदका २ ओटाबाहेक १९ वटा बैठकमा सांसदहरुले आकस्मिक, विशेष र शून्य समयमा हामी सांसदले थुप्रै विषय उठाइसकेका छौँ,’ उनले भने, ‘हामीले उठाएका विषय सरकारलाई थाहा पनि छ कि छैन । रोष्ट्रममा उठेर जवाफ दिनु पर्यो ।’