मधेस सरकारले पनि जनयूद्ध दिवसमा विदा दिने, २०८० सालमा ११ दिन विदा!
जनकपुरधाम । संघीय सरकारले विदा दिएपछि विवादित जनयूद्ध दिवसमा मधेस सरकारले पनि विदा दिने भएको छ।
मधेस प्रदेशका गृह तथा संचार मन्त्रालयले चैत्र २० गते २०८० चैत्र १ गतेदेखि चैत्र मसान्तसम्म दिने विदाहरुबारे राजपत्रमा प्रकाशित गरेको सूचनामा ‘जनयूद्ध दिवस’ पनि समेटिएको छ ।
सूचनामा ०८० फाल्गुन १ मा जनयूद्ध दिवस दिने उल्लेख छ । मधेश प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि नेपाल राजपत्र भाग ५ मा मिति २०७९ चैत्र २ गते प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचनामा उल्लेखित बिदाको अतिरिक्त थप बिदा दिएकोले यो सूचना प्रकाशन गरिएको छ- राजपत्रमा उल्लेख छ ।
राजपत्रमा वैशाख २ मा सिरुवा पर्व, वैशाख १६ मा जानकी नवमी, मंसिर ४ मा छठ पर्व, पौष १ मा विवाह पंचमी, माघ ५ मा बलिदानी दिवस, चैत्र १३ मा होली र चैत्र २१ मा रामनवमीसहित ११ वटा विदा समेटिएको छ ।
यस्तै ईद उल फित्र, ईद उल अजाह र पैगम्बर मोहम्मद जन्मदिनको अवसरमा पनि विदा दिनेछ । यी तीन विदाको समय पछि निर्धारण गरिने राजपत्रमा भनिएको छ ।