चितवन-२बाट को पुग्ला संसद्‌मा ? यस्तो छ अंकगणित

काठमाडौँ । उपनिर्वाचन हुनेमध्ये चर्चित मानिएको चितवन-२ मा दलहरु चुनाव केन्द्रित भएर प्रचारप्रसारमा जुटेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचन लक्षित कार्यक्रमसहित उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले जानकारी दिए । ‘घरदैलो सुरु भएको छ। हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ,’ उनले भने ।

यहाँ बागी उम्मेदवार पनि कांग्रेसमै फर्किएका छन् । गत निर्वाचनमा कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै विद्रोह गरेका चितवनका कांग्रेस नेताहरू उपनिर्वाचनमा भने कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का बनेका छन् । यसअघि टिकट नपाएपछि विद्रोहमा उत्रिएका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर तामाङ र महासमिति सदस्य मिना खरेलले संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा भने कांग्रेसका पक्षमा उभिएका हुन् ।

उसो त उम्मेदवार श्रेष्ठ चितवन कांग्रेसमा लोकप्रिय नेता हुन् । रविको नागरिकता तथा राहदानी मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउने उनको रणनीति छ । श्रेष्ठले चितवन नेताहरूको परिक्षण गर्ने थलो नभएको जिकिर गर्दै योपटक आफूले भारी मतले जित्ने दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारेका छन् । राजनीतिमा शुद्धता ल्याउन र नेपालमै रोजगारी सिर्जना गर्न पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । लामिछानेले आफू यसपटक पनि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेको बताए । चर्चित मानिएको निर्वाचन क्षेत्र चितवन-२ मा रविले नै जित्ने सम्भावना देखिन्छ ।

जनमत रास्वपाप्रति आकर्षित रहेको र अहिलेसम्म आफ्ना सांसद र मन्त्रीहरू पूर्णरूपले परिक्षण नभएकाले आसन्न निर्वाचन पनि लोकप्रिय मत ल्याएर जित्नेमा रविको आत्मविश्वास देखिन्छ । यद्यपि नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सर्वोच्च अदालते उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त गरेपछि योपटक जनमत विभाजित हुने विपक्षीको आँकलन छ ।

विपक्षी एमालेले जिल्ला अध्यक्षसमेत रहेका लोकप्रिय नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि रविका प्रतिस्पर्धी रहेका चर्चित नेता कृष्णभक्त पोखरेल पछि हटेपछि एमालेले न्यौपानेलाई उम्मेदवार बनाएको हो । एमालेले इच्छाकामना गाउँपालिका-१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गरेको छ । एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज भएको जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए । मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले छ ।

कसको मत कति ?
यहाँ गत मंसिरमा सम्पन्न चुनावमा दलहरूले पाएको मतलाई विश्लेषण गरिएको छ । यद्यपि अहिले यही नै आँकडामा दल र उम्मेदवारले मत पाउँछन् भन्ने आधार भने छैन ।

निर्वाचन परिणाम हेर्दा रास्वपा अत्याधिक मतले अगाडि रहेको छ । चितवन-२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।

समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । एसको ६१६, मंगोल नेसनल अर्गनाइजेसनको ४५६, सुशासन पार्टीको ३३०, मालेको २२०, जपाको १५५, हानेपाको १२६, नाउपाको १२४ र जनमोर्चाको १२२ रहेको छ ।

यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *