एमाले सचिव भट्टको निवासमा पुगेर प्रचण्डले भने– याे घर आफ्नै ठानेर आएँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेर छलफल गरेका छन् । माआवादी अध्यक्षसमेत रहेको प्रचण्ड आज बिहान कैलालीको अत्तिरियामा रहेको भट्टको निवासमा पुगेर उनीसँग छलफल गरेका हुन् ।
पूर्व माओवादी समेत रहेका नेता भट्टसँग समसामयिक विषयमा कुराकानी गरेको प्रचण्डले बताएका छन् ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए ।
‘यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने–बस्ने गर्थें,’ उनले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’
नेता भट्ट माओवादी र नेकपा एमालेको एकीकरणपछि बनेको नेकपा विभाजन हुँदा एमालेतिर गएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीषन्त समारोहमा सहभागी हुन जाने क्रममा प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टकहाँ पुगेका थिए ।