उपनिर्वाचनपछि जसपाले मधेसको मुख्यमन्त्री कांग्रेसलाई सुम्पिने !

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता खानले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताए ।

उपनिर्वाचनपछि सात वटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरु सहभागी हुने बताए । मधेसमा जसपाका मुख्यमन्त्री सरोज कुमार यादव छन् । उनी बाराका हुन् । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । जसपाबाट बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने ।

स्रोतका अनुसार उपराष्ट्रपति र बारा २ क्षेत्र जसपालाई छाड्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने गोप्य सहमति भएको चर्चा चलेकै थियो । तर कांग्रेस नेता खाँणले आज मधेसकै राजधानी जनकपुरधाम पुगेर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । उनले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

मधेसमा कांग्रेस दोस्रो ठुलो दल पनि हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । तर अहिले प्रदेश सरकारमा सहभागी भएको छैन । स्रोतका अनुसार जसपा र कांग्रेस नेतृत्व तहमा भएको सहमति अनुसार अहिले नेतृत्व परिवर्तन गर्दा बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई धक्का लाग्न सक्छ ।

त्यसैले उपनिर्वाचनपछि जसपाले मुख्यमन्त्री सरोज कुमार यादवलाई फिर्ता बोलाएर मधेसको नेतृत्व कांग्रेसलाई सुम्पिने स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *