रवीले भने : ७२ घण्टाभित्र कारबाही गर्न सकिनछु भने सजाय दिनुहोला
पोखरा । सांसद ढाकाकुमार श्रेष्ठले गरेको भ्रष्टाचारको अडिओ बाहिरिएपछि रास्वपा सभापति रवी लामिछानेले ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् ।
‘सार्वजनिक हुने वित्तिकै मैले पार्टी पंक्तिलाई निर्देशन दिएको छु, कि ७२ घण्टाभित्र छानविन गरेर कारबाही अगाडि बढाउनु भनेर अल्टिमेटम दिएको छु,’ उनले भने, ‘यो देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् मलाई मतलव छैन । तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ ।’
उनले ७२ घण्टा छानविन नहुँदासम्म सांसदको रुपमा वा साधारण सदस्यका रुपमा पनि श्रेष्ठलाई कुनै कार्यक्रममा सहभागी हुन नदिने उनको प्रष्टीकरण छ ।
पार्टीको अनुशासन समितिले २४ घण्टे प्रष्टीकरण सोधेको छ ।
‘सत्यतथ्य छानविन गरेर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा सजाय दिनुहोला,’ चुनावी प्रचारको क्रममा उनले भने, ‘अडियोमा मेरा वरपरका मान्छेले मागेका भनेका छन् । ती वरपरका माग्ने मान्छे को रहेछन्, तीनलाई तपाईंको आँगनमा सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि गढीमाईमा सजाय दिनुहोला ।’
लामिछानेले कारबाहीको काउण्टडाउन सुरु भएको र घडी हेरेर बस्न सबैलाई भनेका छन् ।
‘घडी हेर्दै गर्नुहोला, काउण्टडाउन गर्नुहोला । हामी यसको छिनोफानो गर्नेछौँ, कसैले पनि सहुलियत पाउने छैन । हामीले पार्टीभित्रै अनुसाशसन समितिलाई निर्देशन दिइसकेका छौँ,’ अघि भने, ‘२४ घण्टे स्पष्टीकरण सोधेका छौँ । हाम्रा परिवार र वरिपरिका साथीहरुलाई पनि छुट हुने छैन ।’