अर्थमन्त्रीले मागे भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजस्व कम हुँदै जानुको कारण माग गरेका छन् ।
सोमबार काठमाडौँमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजस्वमा गिरावट आएको भन्दै राजस्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए । उनले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्याङ्क पनि माग गरे ।
अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे । उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजस्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गरे । उनले भन्सार प्रमुखलाई कर्तव्यनिष्ठ भएर नतिजामूलक काम देखाउन निर्देशन दिए । उनले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गरे । उनले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने प्रमुख स्थान भन्सार विभाग भएको बताए । उनले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताए ।
उनले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्वयक रहेको बताए । उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए । उनले भन्सारमा हुने चुहावट रोक्नको लागि राजस्व सचिव,भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताए । उनले राजस्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गरे ।
उनले सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको बताए । उनले सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने बताए । उनले सरकारले भन्सार नीति समग्र जनताको हीतमा हुनेगरी बनाउने बताए ।