विदेशकाे सीप स्वदेशमै लगाएर अर्थतन्त्र समृद्ध बनाउने मेरो मुख्य एजेन्डा हो : रामेश्वर साह

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्षसमेत भइसकेका रामेश्वर साह केटीएम ग्रुप होल्डिङ्स प्रालिका अध्यक्ष हुन् । झण्डै १६ वर्ष मध्य पूर्वका देश बसेर बहुराष्ट्रिय कम्पनीमा काम गरेपछि उनी केही गर्ने उद्देश्यका साथ नेपाल फर्किएका थिए । अहिले उनले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । महासंघभित्रको राजनीतिमा नआई उद्योगी, व्यावसायीका वास्तविक समस्या समाधान नहुने भन्दै उनले उम्मेदवारी दिएको बताएका छन् । यही निर्वाचनकै सन्दर्भमा मकालुखबरले साहसँग गरेको संक्षिप्त कुराकानी :

तपाईंको उम्मेदवारी किन र के–का लागि हाे ?

मेरो उम्मेदवारी व्यावसायिक हकहित संरक्षण गर्न, व्यापार व्यवसाय प्रवर्द्धन र नीति निर्माणमा सहजीकरणका गर्नका लागि हो । साथै नेपाल सरकार र व्यावसायिक सङ्गठनसँग समन्वय गर्न पनि हो ।

मैले यसलाई थोरै विस्तृतिकरण गर्न चाहे । पछिल्लो समयमा निजी क्षेत्रले अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । तर निजी क्षेत्रका सम्भावनालाई उपेक्षित गरिएको छ । सरकारले उनीहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको छ । हाम्रो देशमा व्यवसायलाई अपराध जसरी हेरिन्छ । व्यवसाय समाजसेवा होइन नाफा कमाउनकै लागि हो । तर लुटेकै जस्तो ठानिन्छ । यी सब कुरालाई अघिल्लो नेतृत्वले त्यति ध्यान दिन सकेनन् । समग्रमा भन्नुपर्दा व्यवसायमैत्री वातावरण बनाउन मैले उम्मेदवारी दिएको हुँ ।

अहिले उद्योगी व्यवसायी कर्जा चापको समस्याबाट पीडित छन् । केन्द्रीय सदस्य चुनाव जितेर आइसकेपछि यस्तो समस्या समाधानका लागि तपाईँको कदम के हुनेछ ?

यो समस्याको समाधान सजिलो छ । राजनीतिक लिडरसिप र व्यावसायिक लिडरसिप बिच भएको खाडलमा पुल बनाउन एकदमै जरुरी छ । यसका लागि दुवै पक्षले व्यक्तिगत स्वार्थलाई त्यागेर देशको हितका लागि काम गर्नुपर्छ । किनकी देश रहे मात्र हामी रहन्छौँ । देशको समुन्नति भए न हाम्रो समुन्नति हुने हो ।

पछिल्लो समयमा जितेर गएको महासंघको टिमले साना तथा मझौला व्यवसायलाई समेट्न नसकेको र उनीहरूका लागि केही गर्न नसकेको गुनासो सुनिन्छ । तपाईंहरुले जित्नु भयो भने के गर्नुहुन्छ ?

देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायको एकदमै ठूलो सहभागिता छ । नेपालमा भएका १२३ वटा वस्तुगत संघहरूले ती व्यवसायहरूकै नेतृत्व गर्दछ । तर त्यसमा केही दूरी देखिन्छ । उनीहरूका समस्या ओझेलमा परेका छन् । ती कुरालाई सम्बोधन गर्न पनि मैले उम्मेदवारी दिएको हुँ । म उनीहरूको समस्यालाई समाधान गर्न नेतृत्व गर्ने छु । समाधान कै लागि नीति नियमहरू बनाउनेछु ।

छाता संगठनलाई एकै छातामा राख्न तपाईँंको पहल कदमी के हुनसक्छ ?

मतदाताले कुनै एउटा समूहलाई प्राथमिकता दिएन । अघिल्लो चुनावमा कुनै टिमबाट ५ जनाले जिते, कुनै टिमबाट ४ जनाले जिते । टिम बनेर अगाडि बढ्दा एक टिमले अर्को टिमको कुरा सुनिदिँदैन । त्यसले गर्दा नै काम अगाडि बढ्दैन । टिमवाला प्रथा पूरै हट्नु पर्छ । मतदाताले कुनै एक समूहलाई मात्र चयन गर्नुपर्दछ ।

वरिष्ठ अध्यक्ष निर्वाचित भइसकेपछि स्वतः अध्यक्ष हुने परिपाटीलाई परिवर्तन गरेर प्रत्यक्ष निर्वाचन गरेर अध्यक्ष बनाउनुपर्छ भन्ने कुराहरू आइरहेका छन् । तपाईं कुन परिपाटी चाहनु हुन्छ ?

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनैपर्छ । किनकी अघिल्लो पटक वरिष्ठ उपाध्यक्ष भएर जितेका व्यक्ति अर्को पटक पनि अध्यक्ष हुँदा ७० प्रतिशत मतदाता र नेतृत्वकर्ता परिवर्तन भइसकेका हुन्छन् । नयाँ आउने जिल्ला, नगर र वस्तुगतको अध्यक्षसँग हुनेवाला अध्यक्षसँग कुनै सम्बन्ध नै हुँदैन । एकअर्कालाई चिन्दै चिन्दैनन् । त्यस कारण पक्कै पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ ।

हाल देश र व्यवसायीको अवस्था हेर्दा एकअर्कामा समन्वय गर्नुपर्ने देखिन्छ । तर व्यवसायी–व्यवसायी बीच पनि एकर्कामा किन समन्वय हुन सकिरहेको छैन ?

सबै मानिसको डिफरेन्ट आइडोलोजी हुन्छ । समूह बन्नु नराम्रो कुरा होइन । कोही नजिक समुदाय र कोही टाढा समुदायका मानिस दौडमा छन् । कहीँ न कहीँ यो कुराले भूमिका खेलेको हुन्छ । सबैको एकमत भए राम्रो हुन्थ्यो तर भएन ।

पछिल्लो समय महासंघले निजी क्षेत्रको एजेन्डा बलियो प्रतिनिधित्व गरेर हिँड्न सकेन भनेर आरोप लागेको छ । यो अवस्थामा महासंघको भूमिकालाई प्रभावकारी बनाउन तपाईँको भूमिका के हुनसक्छ ?

व्यक्तिगत स्वार्थलाई हटायो भने हुन्छ । नेतृत्वकर्ताले गर्दै गरेनन् भन्ने पक्षमा म छैन । कोभिड, नाकाबन्दी, महाभूकम्प, युक्रेन र रुसको युद्ध, डेङ्गुले गर्दा प्रडक्सन्स बढ्यो र प्रोडक्टिभिटि चाहीँ घट्यो । चल्नसक्ने ठाउँ नै भएन । नेतृत्वकर्ता बलियो प्रस्तुत नभएपछि यस्तो समस्या आएको हो । व्यवसायी चोर हुन् भन्ने मानसिकता छ । हामीले यसलाई बुझाउन सक्नु पर्दछ । हामीले यति लगानी गर्दा यति नाफा पाउँछौँ, हामी यो पाउन योग्य छौँ, सरकारको समर्थन पाउन योग्य छौँ भन्ने कुरा बुझाउन सक्नुपर्छ । गर्यो भने नसकिने कुरा होइन ।

अहिले राजनीतिलाई चुनाव जित्नकै लागि प्रयोग गरिएको देखिन्छ । यसरी चुनाव जितेर गएका व्यक्तिले व्यावसायिक हकहितका लागि काम गर्न सक्छन् त ?

व्यवसाय कुनै पार्टीको हुन् सक्दैन । समग्र देशको हुन्छ । पार्टीमा लागेर व्यवसाय गर्नुभन्दा राजनीतिमै लागे भइहाल्यो नि । यो देशमा सबैभन्दा ठुलो व्यवसाय राजनीति भएकै छ । त्यसका लागि पढ्नु पनि पर्दैन, लगानी पनि गर्नु पर्दैन । फटाहागिरि गरे पनि पुग्दो रहेछ । व्यवसाय र राजनीति फरक पाटो हो । यसमा राजनीति मिसाउनु हुँदैन ।

तपाईँको चुनावी एजेन्डाहरू के–के छन् ?

विश्वका कतिपय देशको तथ्याङ्क र अर्थतन्त्र हेर्दा निजी क्षेत्रले ७० प्रतिशतभन्दा बढी राजस्व उठाएको छ । यो कुरा नेपालमा लागु हुन सकेको छैन । नेपालमा यो कुरालाई स्थापना गर्ने मेरो लक्ष्य छ । भन्नाले सेयर कष्टले जुन नाफा दिलाउँछ । त्यो नाफा व्यवसायीले पाउन् ।

अर्को वैदेशिक लगानी भित्र्याउन समन्वयकारी भूमिका निर्वाह गर्नेछु । देशको अर्थतन्त्र बलियो बनाउन वैदेशिक लगानी भित्र्याउने छु । नेपालमा विदेशबाट सिप सिकेर आएको व्यक्तिका लागि प्लाटर्फम छैन । सँगसँगै वैदेशिक रोजगारमा गएका व्यक्तिको सिपलाई देशको विकाशमा कसरी उपयोग गर्ने भन्ने विषयमा पनि काम गर्नेछु । मेरा एजेन्डाहरू यी नै हुन् ।

अन्त्यमा, आम मतादाता व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

व्यावसायिक हकहितमा निर्धक्क भएर काम गर्ने, सरकारसँग समन्वय भूमिका निर्वाह गरेर काम गर्ने, अर्थतन्त्रलाई बलियो बनाउने नेतृत्वको चयन गर्नुहोला । राजनीतिकरण नगरिदिनुहोला । उत्तरदायी भएर काम गर्ने व्यक्तिको चयन गर्नुहोला । आफूले नै जिताएको नेतृत्वको चाकरी गर्न जानु नपरोस् भनेर मतदान गर्नुहोला । महासंघको यो निर्वाचन सफल पार्न सबै आआफ्नो क्षेत्रबाट लागौँ । एक ढिक्का भएर काम गरौँ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *