नेपालको अर्थतन्त्र निराश हुनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र समग्रमा अहिले निराश हुनुपर्ने अवस्थामा नरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले नेपालको अर्थतन्त्रमा केही दबाब परेको र केही अभावको अवस्था सिर्जना भएकोले सरकारले यसलाई गम्भीरताका साथ लिएको उनले बताए ।

‘विदेशी मुद्राको विनिमय सञ्चिति राम्रो छ,’ उनले भने, ‘हाम्रा युवाहरुले विदेशबाट पठाइरहेको रेमिट्यान्सले सञ्चिति कायम राख्न योगदान गरेको छ । ४ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुन् राम्रो हो । धेरै देशमा यो स्तरको वृद्धि अहिले छैन ।’

अन्तर्राष्ट्रिय अवस्था अनुकुल बन्यो भने पूँजी विकास, उद्योग व्यवसवायमा देखिएको लगानीको समस्यालगायतको हल गरेर देशमा आर्थिक वातावरण विकास गर्न सकिने उनले बताए ।

अल्पकालमा हाम्रो सबै ध्यान पूँजीगत खर्चलाई प्रभावकारी बनाउने, अनावश्यक चालू खर्चको कटौति गर्ने जस्ता कुराहरुलाई घटाउने उनले बताए ।

‘साधारण खर्चलाई हामीले हदैसम्म कम गरेर पूँजीगत खर्चलाई बढाउने छौँ,’ उनले भने, ‘निजी क्षेत्रको आर्थिक गतिविधि विकासमा सरकारले सहजीकरण गर्ने हो । अवरोधहरु हटाउने जस्ता कायम सरकारले गर्ने छ ।’

नेपालको राजनीतिक क्षेत्र, सरकारी संयन्त्र, निजी क्षेत्रलगायत सबै क्षेत्रमा केही न केही कमजोरी रहेको भन्दै उनले त्यसलाई सबैले आआफ्नो ठाउँबाट सुधार गर्नुपर्ने बताए ।

श्रीलंकाको बाटोमा देश जाने हो कि भनेर प्रतिबन्धात्मक नीतिअनुसार मौद्रिक नीतिलाई अघि बढाइएकोले पनि राजस्व असुलीलगायत क्षेत्रमा समस्या देखिएको उनले बताए ।

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उनले काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए । उनले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समिक्षा,निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताए ।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख बताए । उनले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *