राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको मर्यादाक्रममा जिजी क्षेत्रको स्थान निर्धारण हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको आर्थिक क्षेत्रमा ८० प्रतिशत योगदान पुर्याएको निजी क्षेत्रका उद्यमी व्यवसायीलाई राज्यको मर्यादाक्रममा समावेश गर्नुपर्ने उनले बताए । उनले आफूले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत देशको आर्थिक समृद्धिलाई अघि बढाउन मुख्य रुपमा ५ ओटा अजेन्डा अघि सारेको बताए ।

वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने जस्ता ५ ओटा अजेन्डा आफूले अघि सारेको उनले बताए ।

वर्तमान आर्थिक संकट समाधान गर्न पछिल्लो समय लिइएका नीतिहरुमा परिमार्जन जरुरी रहेको उनले बताए ।

नेपाल श्रीलंकाको जस्तै आर्थिक संकटमा जाने डरैडरका कारण लिइएका कतिपय नीतिले नै अहिले समस्या थपेको पनि उनले बताए ।

‘नेपाल श्रीलंका बन्दैन भनेर बोल्ने म मात्रै थिएँ,’ उनले भने, ‘तर, डरैडरका कारण लिइएका कतिपय नीतिले नै हामीलाई संकट थपेको छ ।’

भारतले अहिले पनि ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गरिरहेको र त्यसका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

नेपालमा पनि ८० प्रतिशतभन्दा बढी अर्थतन्त्रमा योगदान रहेको निजी क्षेत्रलाई सरकारले व्यावसायिक साझेदारी सरकारले गर्नुपर्ने उनले बताए ।

मलेसियाले आन्तरिक र प्रत्यक्ष वैदेशिक लगानीलाई राज्यले हरेक निकायले सहजीकरण गर्ने नीति लिएकै कारण आर्थिक समृद्धि हासिल गरेको प्रसंग उल्लेख गर्दै उनले नेपालले पनि आन्तरिक र बाह्य लगानीलाई राज्यका हरेक निकायले सहजीकरण गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउनु पर्ने उनले बताए ।

नेपालमा पनि नीतिगत स्थिरता नभएसम्म लगानी ल्याउन सहज नहुने उनले बताए । सात वटै प्रदेशमा पर्यटनका पूर्वाधार अघि बढाउन आफूले सुरु गरेको पनि उनले बताए ।

आन्तरिक र बाह्य रोजगारीमा जाने युवालाई दक्ष बनाउनु पर्ने र यसले आयआर्जन र विप्रेषण आप्रवाह बढाउने पनि उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *