मूल्यवृद्धि बढ्यो, मुद्रास्फिति ७.४४ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती ७.४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक वर्षको यही अवधिमा अर्थात फागुन महिनासम्मको मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ फागुन महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.१३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.१९ प्रतिशत, १०.३३ प्रतिशत र ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत रहेको छ ।

२०७९ फागुन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.२६ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ७.४५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *