हिमपहिरोमा बेपत्ता तीन जनाको खोजतलास जारी
सगरमाथा आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास जारी रहेको पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार बुधबार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन्। वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउन आवश्यक सामग्री पुर्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको विभागका निर्देशक युवराज खतिवडाले बताए।
बेपत्ता भएका तीनै जना इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए। उनीहरू खुम्बु पासाल्हामु गाउँपालिका–५ का बासिन्दा हुन्।
सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्र रूपमा बेपत्ताको खोजतलास गरिरहेको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
उक्त कार्यमा स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, इम्याजिन एक्सपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक संघ नेपालसँगको सहकार्य रहेको विभागले जनाएको छ।