पाँच जलविद्युत् आयोजना अघि बढाउन १ खर्ब ६७ अर्ब लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले ५ वटा जलविद्य्त आयोजना निर्माणका लागि १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँको लगानी स्वीकृति दिने गरेको छ । बिहीबार बोर्डका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको ५३ औँ बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त रकम मध्ये १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक लगानी रहने छ भने २१ अर्ब ३७ करोड स्वदेशी लगानी रहने छ ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो । उक्त अयेजना विकास गर्न विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत परियोजनाका लागि ३३ अर्ब १९ करोड लगानी स्वीकृत गरेको छ ।
७० मेगावाटको दुधकोसी–२ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड लगानी स्वीकृत गरेको छ ।
७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि र ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।