देश खराब प्रणालीको दुष्परिणाम भोग्दैछ, जनता विकल्पको खोजीमा : अध्यक्ष लिङ्देन
फिदिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौँ भनेर झुक्क्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन् । जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर सङ्कटको डिलमा पुगेको लिङ्देनको भनाई छ ।
राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आइतबार फिदिम स्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने बताए । आफ्नो पैतृक थलो पाँचथर आएका लिङ्देन उक्त कार्यक्रममा विभिन्न दलबाट ठूलो संख्यामा युवाहरू प्रवेश गरेपछि उत्साहित देखिनुभएको थियो । मुलुकमा अहिलेकै व्यवस्था र प्रवृत्ति ठिक छ भन्ने र ठिक छैन भन्ने दुई कित्तावीच संघर्ष चलिरहेको बताउँदै लिङ्देनले अहिलेको व्यवस्थाले जनताको अवस्थामा परिवर्तन गर्दैन भन्ने निष्कर्ष राप्रपाको रहेको र सो कुरा बारम्बार पुष्टि भइरहेको दाबी पनि गरे ।
आम क्षेत्रमा समस्या भोग्नु परेपछि जनतामा विकल्प नखोजी भएन भन्ने छटपटी रहेको तर त्यो छटपटीले उपयुक्त विकल्प नभेट्टाउँदा ‘तावाबाट उम्केको माछा भुङ्ग्रोमा पर्छ’ भने झैँ भएको लिङ्देनको भनाई छ । संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दु राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्थाका पक्षधर दलहरूलाई ‘नक्कली’को संज्ञा दिएका हुन् । ‘ठिक ढङ्गले पहिचान गर्न नसक्दा जनता नक्कलीको फेला परे,’ उनले भने, ‘जनता पटक-पटक नक्कलीका फेला परेका छन् । फेरी नक्कलीको फेला पर्नु हुँदैन ।’कोशी
प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले जनतालाई जातअनुसारको राज्य दिन्छु भन्नेहरू सत्ताको नेतृत्वमा हुँदा पूर्वका लिम्बूहरू लिम्बुवानको लडाइँ लडिराख्नु परेको छ बताउँदै यस्तो लडाइँ लड्नुपर्ने दिन किन आयो ? भन्ने प्रश्न गरे । यही व्यवस्थाबाट मुलुकमा सुधार हुन्छ भन्नु र प्रश्न उठाउँदा प्रतिगमन हुन लाग्यो भन्नु हास्यास्पद भएको उनको टिप्पणी छ ।
अध्यक्ष लिङ्देनले ऋण काढेर कर्मचारी र जनप्रतिनिधि पाल्नुपर्ने तथा चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य नभएको बताए । ‘सरकार स्वयंले संकलित राजश्वले कर्मचारीलाई तलब खुवाउन नसकिएको बताउँछ । अर्थतन्त्रमा सुधार गर्न नसक्नु, अर्थतन्त्र सञ्जिती घट्दै जानु, व्यवसायी पलायन हुनुपर्ने अवस्था ठूला राजनीतिक दलका कारण सिर्जना भएको हो । ठूला दल सत्तालाई पहिलो र प्राथमिक विषय बनाएर हिँडेका कारण यो स्थिति सिर्जना भएको हो,’ उनले भने ।
शिक्षा, स्वास्थ्य, न्यायालय, प्रशासन सबैमा भद्रगोलको स्थिति सिर्जना भएको, संस्थानहरू समेत बजारमा पैसा पठाउनुको सट्टा ब्याजमा लगाएर गफ हानेर बसेको, ऋणीहरूले ऋण नपाएको अवस्थाप्रति गम्भीर हुन उ नले आग्रह गरे । ‘हामीले ठिक ढङ्गले दबाब सिर्जना गर्न सकेनौँ भने देश पतनको बाटोमा जान्छ । पतनबाट रोक्न जनता जाग्न जरुरी छ,’ लिङ्देनले भने, ‘सङ्कट समाधान गर्न व्यवस्था परिवर्तन आवश्यक छ । हाम्रो दबाब व्यवस्था परिवर्तनका लागि हुन्छ ।’
सामान्य रूपमा देशको अवस्था ठिकठाक देखिएको, विकास र पूर्वाधार निर्माण भएको देखिएको तर देश ठिक अवस्थामा अघि बढ्न नसकेको, देश ओरालो लाग्ने क्रम निरन्तर रहेको बताउँदै लिङ्देनले देशले कुन समयमा घुँडा टेक्छ भन्ने टुङ्गो नभएको बताएका छन् ।