एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको ६ विकेटको जित
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
मेलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए । कुशल मल्लले ७० रन, रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेखले जम्मा १ रन बनाए ।
यसअघि मलेसियाका लागि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरे । उनीहरुले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरेका हुन् ।
फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।
विरन्दीप ९४ बलमा २ चौकाको सहयोगमा ४६ रन बनाए ।
यसअघि ओपनर महम्मद अमिरले १७ रन जोडेका थिए । खिजार हायातले २२, महम्मद वाफिकले २१ र महमद सहादतले १५ रन बनाए । अतिरिक्तबाट १२ रन जोडेको थियो ।
नेपालका लागि भने सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिएका थिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए ।
ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिएका थिए । गुलशन झाले १ विकेट लिए ।