कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित 

विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिति सूचकमा कोशी प्रदेशमा २०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।

इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जना नागरिक पीडित भएका छन् ।

अन्य पक्षबाट भएका अपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँचजना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा एक जना नागरिक पीडित भएका छन् ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्य पक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।

कोशी प्रदेश नामकरणसँगै २०७९ फागुन १७ गतेदेखि पहिचानका आधारमा प्रदेशको नामकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ । चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरुद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।

आन्दोलनका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।

नामकरणको विषयमा लिएर ०७९ फागुन १७गतेयता कोशी प्रदेश अशान्त हुँदा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सङ्कुचित भएको इन्सेकले जनाएको छ । चैत १४ गते कोशी प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशसभा सदस्यहरू सहभागीहुने एक कार्यक्रमलाई लक्षित गरी आन्दोलनरत पक्षले कार्यक्रमस्थल विग होटल परिसरमा नाराबाजी र हुलदुङ्गा गर्दा प्रहरीसँग भएको झडपमा १४ जना नागरिक घाइते भएको इन्सेक अभिलेखमा उल्लेख छ  ।

लाजेहाङको परिवारलाई प्रदेश सरकारको चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले ३ लाख रुपियाँ दाहसंस्कार खर्च उपलब्ध गराउने र सङ्घीय सरकारले चैत २४ गते मृतक लाजेहाङलाई शहिद घोषणा गरेको छ । गृह मन्त्रालयले चैत २८ गते पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेको छ ।

कोशी प्रदेशका १४ ओटा जिल्लामा तीन महिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जना बालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।
जसमा अपहरण घटनामा दुई जना, बेचबिखनका घटनामा तीनजना, र एक जनाबालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जना बालक, बलात्कार घटनामा ४१ जना र यौन दुर्व्यवहार घटनामा १५ जनाबालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।

महिलाअधिकारका घटनामा एकसय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । जसमा बेचबिखन प्रयास घटनामा एक जना, घरेलु हिंसाका घटनामा १ सय ३ जना, बहुविवाह घटनामा १२ जना, बलात्कारका घटनामा २२ जना, बलात्कार प्रयासका घटनामा चार जना र यौन दुर्व्यवहार घटनामा एक जना गरी १ सय ४३ जनामहिला पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेकले प्रदेशको मानवअधिकार अवस्थाको स्थितिका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिक रूपमा स्थितिसूचक प्रकाशन गर्दै आएको छ ।
कोशी प्रदेशमा राजनीतिक अधिकार अन्तर्गत भएका विरोध कार्यक्रमका राज्यकारतर्फबाट भएको धरपकड, महिला र बालबालिकामाथि श्रृखलाबद्ध यौनजन्य घटनाले कोशी प्रदेशमा मानवअधिकार सुधार भन्दा कमजोर हुँदै गएको भन्न सकिने अवस्था सिर्जना भएको इन्सेकले जनाएको छ ।

तीन महिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्तर्राष्ट्रिय सम्धी सम्झौताको कार्यान्वयनको सवालमा प्रश्न खडा हुने अवस्था देखिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताए ।

इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानवअधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न आवश्यक रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *