बारामा उपेन्द्रलाई भोट माग्दै प्रधानमन्त्रीले देखाए निजगढ विमानस्थल बनाउने आश
बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्ने बताएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार उपेन्द्र यादवलाई भोट माग्न बारा पुगेका प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
बाराको गढीमाईमा सत्ता गठबन्धनले आयोजना गरेको चुनाबी सभामा उपेन्द्रलाई भोट माग्दै उनले बाराका जनतालाई निजगढ विमानस्थल चाँडै शिलान्यास गर्ने आश देखाएका हुन् ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ,’ उनले भने, ‘म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।’
गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने पनि उनले बताए । गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने, कोभिडको बेला बन्द भएको नाका सुचारू गर्ने, विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गर्ने, नागरिकतासम्बन्धी समस्या दीर्घकालिन रुपमा समाधान गर्ने जस्ता आश्वासन उनले दिए ।
‘उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ,’ उनले भने ।
उनले यसपटक गाँठो पार्ने नभई गाँठो फुकाउने राष्ट्रपति पाएको भन्दै नागरिकता समस्या समाधान गर्ने उनले बताए ।
उनले उपेन्द्र यादव देशको नेता भएको र संसदका लागि चाहिने नेता भएको बताए ।
‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो,’ उनले भने, ‘मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो ।’