उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृत गर्ने
काठमाडौँ । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए । उनले अब प्रचलित कानून बमोजिम कम्पनी दर्ता,उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए ।
चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरिएको बताए । उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेको बताए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने,लगानी स्वीकृतको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए ।
महानिर्देशक तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उनले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताए ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो । विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रि अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेशलगायतका मुलुकमा भएको अभ्यासले देखाएको छ ।