बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् !

काठमाडौँ । बसन्त चौधरीले नर्भिक हस्पिटलको ३० औँ वार्षिकोत्सव अवसरमा शुक्रबार साँझ काठमाण्डौमा आयोजित समारोहमा व्यक्त विचारको सम्पादित अंश ।

नर्भिकको तिसौँ वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरूमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको । म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरू रोगमुक्त मुस्कान फिँजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवश बर्जित छ, रोगीहरू स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् । यस्तो स्वप्नबाटिकाको परिकल्पनाकार मेरा पूजनीय पिता स्व. लुनकरणदास चौधरी ज्यूको आज १०१ औँ जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्दसुमन अर्पण गर्न चाहन्छु ।

साथै, यहाँहरूको कृपापूर्ण उपस्थितिका लागि पनि कृतज्ञता व्यक्त गर्दै नव वर्षको आत्मीयतापूर्ण शुभकामना अर्पण गर्न चाहन्छु । यहाँहरूको नर्भिकप्रतिको स्नेहका लागि कृतज्ञता व्यक्त गर्न उचित शब्दहरू मसँग छैनन् ।

नर्भिक नामले मात्र होइन, आफ्नो कामले परिचित भएको छ । ३० वर्षअघि रोपिएको बिउबाट हुर्किएको नर्भिक आफ्नो लक्ष्यप्रति इमानदारीताका साथ अघि बढ्दै यो अवस्थामा पुगेको संस्था हो । भनिन्छ: सफल हुनु धेरै ठुलो कुरा होइन, तर सफलता जोगाउन सक्नु सबैभन्दा ठुलो कुरा हो । त्यो सबैभन्दा ठुलो चुनौती हो । यहाँहरूजस्ता संरक्षकहरूको सद्भाव र प्रेरणा, र यहाँ कार्यरत दक्ष जनशक्तिको कर्मठता र कर्तव्यपरायणताका कारण नर्भिक आज यो उचाईसम्म पुग्न सफल भएको छ । म यहाँहरू सबैलाई विश्वास दिलाउन चाहन्छु, नर्भिक सदा इमानदािरताकापूर्वक आफ्नो लक्ष्यप्रति समर्पित भइरहनेछ ।

वास्तवमा भन्ने हो नर्भिकको बारेमा हामीले केही बोल्नुपर्दैन । बोल्छन् ती रोगीका असंख्य आँखाहरु, अनि आफन्तहरू जो यहाँबाट उपचारित भएर स्वास्थ्य लाभ गरिरहेका छन् । ती आशीर्वादका हातहरू जुन यस स्वस्थ धामको कण कणमा फैलिएका छन् । आज नर्भिक भन्नसाथ सेवा, स्वास्थ्य, सहृदयताको जुन बोध हुन्छ, मैले त्यसैलाई आफ्नो जीवनको परम उपलब्धि ठानेको छु ।

उपलब्धिको कुरा गर्दाखेरि म तीस वर्षपूर्वतिर फर्किएर जब हेर्छु, केही मीठा, केही तीता, केही घतलाग्दा, केही गौरवपूर्ण क्षणको पथमा हिँडेका ती पद्चापहरुलाई देख्छु । धेरै मान्छेलाई कौतुहलता भइरहनसक्छ, एउटा व्यापारिक घराना किन स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको छ ? यसको पछाडि पक्कै केही न केही कारण हुनुपर्दछ । कोही मलाई सोध्द्थे केले तपाईँलाई स्वास्थ्य सेवामा लगानी गर्न प्रेरित गर्‍यो ? तब म सम्झन्छु, मेरो बचपन(बाल्यकाल) । मेरो जीवन बाल्यकालदेखि नै कहिले पनि धेरै स्वस्थ रहेन । र, आकस्मिक स्वास्थ्य उपचारका क्रममा भारत जाँदाखेरि आफूले देखेका, भोगेका ती क्षणहरू म कहिल्यै पनि बिर्सिन सक्दिँन । त्यो बेला दिल्लीमा अल इण्डिया इन्स्टिच्यूट(एम्स)बाहेक त्यो स्तरको अरु अस्पताल नै थिएन । न त कर्पोरेट अस्पतालहरू नै आइसकेका थिए । यो करिब ५२ वर्षअगाडिको कुरा गर्दैछु म ।
हामी जतिसुकै भए पनि सामान्य नागरिकभन्दा आफूलाई बाहिर लगेर उपचार गर्न सक्ने सामर्थ्य भएको ठान्छु । मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदाखेरि भर्नाका लागि मेरा पिताजीले डाक्टरहरुको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु, एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको । र, म यो पनि सम्झिन्छु, रगतको टाटा भएको शैयामा सुतेको ।

मैले अघि बिजको कुरा गरेँ । त्यही नै बिज मेरो हृदयमा थियो । हामी अलि सक्षम हुँदा हुँदै पनि जब यति धेरै दुःख पाउँछौँ भने सामान्य नागरिकको के हालत हुँदो हो ? त्यो नै एउटा प्रण थियो कि म नेपालमा एक दिन अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउनेछु ।

र, आज भन्दा ३० वर्षअगाडि यसको सुरुवात गरेँ । त्यसका साक्षी डा. एसके भट्टाचार्य आज यहाँ मौजुद हुनुहुन्छ । म उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु । उहाँहरूको साथ, उहाँहरूको हौसला त्यो बेला नभएको भए यो कार्यको थालनी गर्न त्यति सजिलो हुने थिएन होला ।

हामीले थालनी त गर्‍यौँ । आफ्नो निजी सम्पत्ति थिएन । लिज्ड प्रपर्टीमा सर्भिसेज सुरु गर्‍यौँ । सुरु गरेको केही महिनापछि हामी लखेटियौँ । किनभने जब हस्पिटल चल्न थाल्यो, नाम कमाउन थाल्यो, घरधनीहरूलाई लोभ बढेर गयो । त्यसपछि एक ठाउँबाट अर्को ठाउँमा, अर्कोबाट अर्को ठाउँमा सर्दै स्थायी रुपमा थापाथलीमा हामीले थप लगानी गरी आफ्नै जग्गामा हार्ट कमाण्ड सेन्टर स्थापना गर्यांै, जसले कार्डियाक इमेरजेन्सीलाई विश्वसनीय स्तरमा आफूलाई विकास गरेको थियो ।

प्रविधिको हिसाबले पनि नर्भिक सधैँ अगाडि रह्यो । ३० वर्षअघि नेपालमा पहिलो पटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो । क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो । नर्भिकले यस्ता धेरै प्रथम कार्यहरू गरेको छ । त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ ।

पैसा कमाउन योभन्दा धेरै ठुला बजार र विकल्पहरू मौजुद छन् । तर, एउटा चित्कार गरिरहेको रोगी, जब स्वास्थ्यलाभ गरिसकेपछि हाँस्छ, मुस्कुराउँछ, त्यो हासोको शीतलता जब जब म अनुभव गर्छु, मलाई संसारका सारा कुराहरू फिक्का लाग्छन् । र, आफूमा जन्म–जन्मान्तरको तृप्ति अनुभव गर्दछु ।

सफलता, असफलता सँगसँगै आउने प्रयत्नहरू हुन् । जब हामी ‘म’को अहम् बाँच्छौँ, असफलता हाम्रो नजिक नजिक आउँछ । जब हामी ‘हामी’को महानतालाई बुझ्न थाल्छौँ, तब हामी सफल हुँदै जान्छौँ । स्वास्थ्य सेवा केवल डाक्टर मात्र होइन, नर्स मात्र होइन, पारामेडिक्स मात्र होइन । केवल अस्पतालको सुविधा सम्पन्न भवन मात्र पनि होइन । प्राविधिक, प्रशासनिक एवम् चिकित्सकहरूको सन्तुलित र समर्पित समूहको देन हो । जब सबैको यो निस्वार्थ भाव समान रूपले एउटै गन्तव्यतर्फ अगाडि बढ्छ, तब त्यस कार्यले श्रेय प्राप्त गर्छ । त्यसैले आज नर्भिकको ३० औँ वार्षिकोत्सवको यो हर्षोल्लासमय समयमा म सम्पूर्ण नर्भिक परिवारलाई उहाँहरूको यो सफलताका लागि बधाई ज्ञापन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

आज यस अवसरमा हामीले यस स्थापनाकालदेखि नै सेवा पुराउँदै आउनुभएका हाम्रा प्रिय सहकर्मी साथीहरूलाई सम्मान गर्न फायौँ, अत्यन्त हर्ष लागेको छ ।

जसरी स्वास्थ्य विज्ञानमा नयाँ नयाँ सम्भावनाहरू प्रतिनिदिन थपिँदै छन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको चुनौती पनि बढ्दै छन् । हामीले आफ्ना योजनाहरूलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रुत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरू विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरूलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समुन्नत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिएछ छौँ । तर, सेवा बिस्तारका नयाँ नयाँ चुनौतीसँगै ती चुनौतीसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता रहेको म निवेदन गर्न चाहन्छु । मैले मेरो जीवनको आधा समय नर्भिकलाई अर्पण गरेँ, र नर्भिकलाई आजको यो अवस्थामा लिएर आएँ । त्यसैले अब मलाई विश्वास छ, चौधरी परिवारका नयाँ जोस र जाँगर एवम् मेरी प्रिय पुत्री मेघाले ती चुनौतीहरूलाई अवसरको रुपमा लिनेछिन् र नर्भिकलाई थप उचाइ प्रदान गरी हामी सबैलाई गौरवान्वित तुल्याउनेछिन् ।

अन्त्यमा आजको दिनले र विशेषतः यहाँहरूको कृपापूर्ण उपस्थितिले मलाई आफ्नो मानवीय र सामाजिक प्रतिबद्धतामा अघि बढ्न ठुलो हौसला दिएको छ । साथै यस अवसरमा हामीलाई सधैँ हौसला, सुझाव, सहयोग गरिदिनुहुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, मन्त्रालयका विशिष्ट अधिकृत महोदयहरू, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष ज्यू एवम् सदस्य ज्यूहरू, काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर, महानगरका सदस्यज्यूहरू, वडा नम्बर ११ का अध्यक्ष ज्यू तथा सदस्यहरू ज्यूहरू, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्कका उच्चपदस्थ अधिकारी ज्यूहरू सबैमा हार्दिक नमन गर्दछु । यहाँहरूको माया, सद्भाव यसरी नै हामीले पाइरहनेछौँ भन्ने पनि मैले विश्वास लिएको छु । साथै आगामी दिनमा नर्भिक अझ बढी व्यापकता, प्रविधि एवम् दक्षताका साथ यहाँहरूको सेवा गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *