बारामा आधाबढी मतपेटिका संकलन, ९ बजेभित्रमा सबै गणनास्थल पुग्ने

कलैया। उपनिर्वाचन अन्तर्गत आइतबार बारा क्षेत्र नम्बर २ मा मतदान सकेपछि मतपेटिका ओसार्ने कार्य सुरु गरिएको छ। अहिलेसम्म आधाभन्दा बढी मतपेटिका संकलन भइसकेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

‘अहिलेसम्म आधाबढी गणनास्थलमा ल्याइसकियो। राति ९ बजेसम्ममा सबै आइसक्छन्। लगतै बैठक बसेर गणना सुरु गर्ने तयारी छ’, सापकोटाले भने।

बारा सदरमुकाम कलैयास्थित शिक्षा समन्वय समितिको कार्यालयमा मतगणनाको व्यवस्थापन मिलाइएको छ। मतगणना स्थानमा मतदान केन्द्रहरुबाट कडा सुरक्षाबीच मतपेटिका ल्याउनेक्रम जारी छ।

मतपेटिका आएलगत्तै सर्वदलिय बैठक राखेर आजै रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको प्रजिअ सापकोटाले बताए।

मतगणनास्थलमा तारजाली लगाइएको छ भने सिसि क्यामेरा समेत जडान गरिएको छ। ‘मतगणनास्थल अत्यन्त व्यवस्थित बनाएका छौं, पत्रकारका लागि पनि ठाउँ छुट्याएका छौं । यहाँ कुनै किसिमको गडबड हुने अवस्था रहदैन’, उनले भने ।

यस क्षेत्रमा १ लाख ५ हजार ११ मतदाता छन्। जसमध्ये ६१ प्रतिशत मतदाताले मतदान गरेका हुन्। मंसिर ४ मा योभन्दा २ दशमलव ५६ प्रतिशत बढीले मतदान गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *